काठमाडौं । शहिद स्मारक ए’ डिभिजन लिग नामले परिचित यो प्रतियोगिता अर्को साताबाट काठमाडौंमा शुरु हुँदैछ ।
चार वर्षको अन्तरालपछि पहिलो पटक पुनः सञ्चालन हुन लागेको यो प्रतियोगिताले अहिले नेपाली खेलकुद क्षेत्रमा अर्कै रौनक ल्याएको छ । सन् १९३४ मा प्रधानमन्त्री पद्म शम्सेरले राम जानकी फुटबल च्याम्पियनसिप नामाकरण गरिएको यो फुटबलले नेपाली फुटबलको इतिहास बोकेको छ ।
‘ए’ डिभिजन लिगमा आफ्नो छुट्टै इतिहास बनाएको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अहिलेसम्म सबैभन्दा धेरै मनाङ मस्र्याङ्दी क्लबले ७ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।
त्यस्तै, रानीपोखरी कर्नर टिम ‘आरसिटी’ले ६ पटक, न्युरोड टिम ‘एनआरटी’ क्लब र थ्रिस्टार क्लबले समान ३-३ पटक उपाधि आफ्नो पोल्टामा पारिसकेका छन् । यता, विभागिय क्लब नेपाल पुलिस क्लबले तीन पटक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा त्रिभुवन आर्मी क्लबले भने एक पटक पनि उपाधि जित्न सकेको छैन ।
‘ए’ डिभिजन लिगमा तीन विभागिय क्लबहरुले शसक्त प्रर्दशन गर्दै आइरहेको छ । तीनै वटै क्लबमा उत्तिकै राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण छन् । त्यसमा पनि आर्मी क्लबका भरत खवास नेपाली राष्ट्रिय टिमका भरपर्दा फरवार्ड हुन् । त्यस्तै, गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल र नवयुग श्रेष्ठ पनि आर्मी कै खेलाडीहरु हुन् ।
नेपाली फुटबलमा विभागीय टिमका तीन वटै क्लब ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार हुन् । तर, यसपटक आर्मी क्लबले लिगको उपाधि जित्ने दाउका साथ मैदानमा उत्रने तयारी गरिरहेको छ । फुटबल भन्ने बितिक्कै तन्दुरुस्त शरिर र बलिया खेलाडि जोडिएको हुन्छ ।
त्यसैले अरु क्लबको खेलाडीको तुलनामा विभागीय क्लबका खेलाडीहरु अझ बढी फिट हुन्छन् ।
एक समय नेपाल पुलिस क्लबले घरेलु फुटबलमा एक छत्र राज गरेको थियो । तर, सधै समय एकनाशको हुदैन । अहिले आर्मी क्लब ‘ए’ डिभिजन लिगको उपाधि जित्दै इतिहास बनाउने दाउमा रहेको छ ।
लिगको इतिहास हेर्ने हो भने आर्मी क्लबले गत संस्करण पाएको सफलता नै अहिलेसम्मको सबै भन्दा ठूलो उपलब्धी हो । त्यतिबेला आर्मी क्लब लिगको उपविजेता बनेको थियो । अर्को साताबाट शुरु हुने लिगको उपाधि जित्ने आर्मी क्लबको लक्ष्य रहेको प्रशिक्षक नविन न्यौपानेले बताए ।
प्रशिक्षक न्यौपाने भन्छन्, ‘‘विभागीय टिमको बिशेषता भनेको १२ महिना नै ट्रेनिङ गर्नु हो, हाम्रो सबै खेलाडीहरु फिट छन्, टिम सेट पनि राम्रो बनाएको छु, सबै खेलाडीहरु प्रायसँगै खेल्ने भएकोले पनि प्रतियोगिताका दौरान कुनै समस्या आउने छैन ’’
आर्मी क्लबले गत सिजनमा ७ वटा मुख्य प्रतियोगिताको उपाधि जितीसकेका छन् । देशभरका विभिन्न गण र पृतनाबाट छानिएका ४० भन्दा बढी खेलाडी आर्मीको टोलीमा आवद्ध छन् । त्यही खेलाडीको प्रर्दशनमा आर्मीले सहिद स्मारक ’ए’ डिभिजन लिगको उपाधि जित्ने अपेक्षा गरेको छ ।
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध
शहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि ६ जना राष्ट्रिय खेलाडीले विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्ने भएको छ ।
लिग शुरु हुन एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ ‘एन्फा’मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ मस्र्याङ्दी क्लबले सबैभन्दा बढी धेरै पाँच खेलाडीलाई अनुबन्ध गरेका छन् ।
लिगको लागि मनाङले राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेका हुन् ।
त्यस्तै, आर्मी क्लबबाट गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।
यता थ्रीस्टार क्लबले गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनिल बललाई आवद्ध गराएका छन् । च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्ने छन् भने एपिएफ क्लबबाट आदित्य चौधरीले खेल्ने छन् ।
डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबबाट खेल्नेछन् भने स्टार स्ट्राइकर विमल घर्तीमगरको अहिलेसम्म क्लबको टुङ्गो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् ।
‘ए’ डिभिजन लिगको उद्घाटन खेल
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा न्युरोड टोली एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टोली (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।
लिगको पुरस्कार राशी
राउण्ड रोविन लिगको आधारमा खेलाडी शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले ५० लाख रुपैयाँ जित्नेछन् ।
त्यस्तै, उपविजेता हुने क्लबले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले सात लाख तथा छैटौं क्लबले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । यता, फेयर प्ले क्लबले एक लाख तथा प्रत्येक खेल जिते बापत ‘एन्फा’ले क्लबलाई ५० हजार र म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार पुरस्कार दिइनेछ ।
लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया