अमित श्रेष्ठ प्रकरण : प्रहरी अनुसन्धानमा शंकै–शंका !

राज्यको सुरक्षाप्रदायक संगठन हो– नेपाल प्रहरी । अपराध नियन्त्रण तथा रोकथाम, कानून कार्यान्वयन, सार्वजनिक सुव्यवस्था कायम गर्नेदेखि जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख जिम्मेवारी प्रहरी संगठनको हो । तर, यही संगठन कोही कसैप्रति पूर्वाग्रही बन्यो भने के होला ?

यसको परिणाम बुझ्न एकपटक अमित श्रेष्ठ प्रकरणलाई हेरे पुग्छ । श्रेष्ठ यतिबेला नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि ‘नेपालबाट गैरकानूनी तरिकाले हुण्डी कारोबार गरी विदेशी बैंकका आफ्नो नाममा खोलेको खातामा जम्मा गरेको’ आरोप छ ।

तर, घटनाको सुरुवाती भने अलि फरक छ । पक्राउ पुर्जी बिना नै श्रेष्ठमाथि प्रहरीले क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ गर्यो । हिरासतमा राख्नका लागि अभद्र व्यवहारमा म्याद थपेको प्रहरीले जफत गरिएका विद्युतीय उपकरण (ल्यापटप, मोबाइल) लाई प्रहरीको फरेन्सिक ल्यावमा परीक्षण गर्दा क्रिप्टोको कुनैपनि कारोबार नदेखिएको रिपार्ट आयो । तर, श्रेष्ठको मामलामा प्रहरी भने त्यत्तिकै चुप बस्न सकेन । प्रहरीले श्रेष्ठविरुद्ध तीनवटा आधार बनाएर मुद्दा चलाएको छ ।

अष्ट्रेलियाको ‘कमनवेल्थ बैंक अफ अष्ट्रेलिया’मा रहेको श्रेष्ठको खातामा ७ जनवरी २०१९ देखि २४ अप्रील २०१९ सम्ममा १ लाख ९४ हजार २८५.५६ अष्ट्रेलियन डलर अर्थात् करिब १ करोड ५० लाख नेपाली रुपैयाँ जम्मा भएको सरकारी पक्षको दाबी छ ।

अर्को प्रमाणको रुपमा क्यानडास्थित ‘रोयल बैंक अफ क्यानडा’मा रहेको खातामा २ जुलाई २०१९ देखि ८ अगस्ट २०१९ सम्ममा २ लाख ३२ हजार ३ क्यानेडियन डलर अर्थात् त्यस समयको विनिमय दरअनुसार १ करोड ९५ लाख ४६ हजार २५२.८० श्रेष्ठको नाममा रहेको आधारलाई सरकारले प्रमाणको रुपमा लिएको छ ।

त्यस्तै, क्यानडा स्टक होल्डिङससम्बन्धि विवरणअनुसार ५ मार्च २०२१ मा ४८ लाख ६० हजार १९०.७७ क्यानेडियन डलर बराबरको शेयर श्रेष्ठको स्वामित्वमा रहेको देखिन आएको सरकारी पक्षको दाबी छ ।

उनलाई सुरुमा क्रिप्टो करेन्सीको सम्बन्धमा अनुसन्धान गर्न हिरासतमा राखिएको थियो तर, त्यसबारे कुनै प्रमाण फेला नपरेपछि अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि अर्को मुद्दा दर्ता गरियो । उक्त मुद्दामा पनि धरौटीमा छुट्न नपाउँदै उनलाई प्रहरीले बैंक तथा वित्तिय संस्थासम्बन्धि ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्न फेरि हिरासतमा राख्यो ।

कुनै व्यक्तिलाई अनुसन्धान सुरु गरिएको एउटा मुद्दामा दोषी प्रमाणित गर्न नसक्दा पटक–पटक मुद्दाको प्रकृति परिवर्तन गर्दै हिरासतमा राख्नुले सरकार भनौं या प्र्रहरीको नियतमा खोट देखिन्छ ।

कानून विपरीत मुद्धा दर्ता

बैंक तथा वित्तिय संस्थासम्बन्धि ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्न प्रहरीले हिरासतमा लिए पनि उनीमाथि बैंक तथा वित्तिय संस्थासम्बन्धि ऐन, २०७३ बमोजिमको मुद्दा भने दायर भएको छैन ।

श्रेष्ठमाथि हुण्डी कारोबार गरेको भनि नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । जबकी हुण्डी कारोबार गर्ने व्यक्तिहरुको हकमा राज्यले विदेशी विनिमय ऐन–२०१९ अन्तर्गत मुद्दा दायर गर्छ ।

यहाँ विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत मुद्दा दायर नगरी नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको मुद्दा दायर गर्नुको पछाडी अर्को कारण छ । विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरिएको खण्डमा धरौटीमा प्रतिवादीलाई अदालतले छोड्न सक्ने व्यवस्था छ । यदि उक्त मुद्दा दायर गरे प्रतिवादी धरौटीमा छुट्न सक्ने आशंकामा प्रहरीले जानाजान कानून विपरीत मुद्दा दर्ता गराएको स्पष्ट हुन्छ ।

पाइला–पाइलामा जालझेल !

त्यसका अतिरिक्त श्रेष्ठमाथि लगाइएको अभियोग, राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ अन्तर्गतको कसूर, क्रिप्टो करेन्सीको कारोबार गर्ने व्यक्तिलाई लगाईंदै आएको अभियोग हो । जबकी श्रेष्ठको हकमा निजले क्रिप्टो करेन्सीको कारोबार गर्ने कुरा अभियोगमा कतै पनि उल्लेख गरिएको छैन । साथै, फरेन्सिक रिपोर्टमा पनि केही देखिएन ।

श्रेष्ठमाथि हुण्डी गरेर नेपालको रकम विदेश लगेको भन्ने अभियोग लगाएको भएतापनि नेपालबाट विदेश रकम पठाएको सम्बन्धमा उनीविरुद्ध कुनै पनि तथ्य र प्रमाणहरु अदालतमा पेश भएको छैन । यसरी हेर्दा श्रेष्ठमाथि हरेक कदममा झालझेल भएको ठम्याउन सकिन्छ ।

त्यस्तै, मुद्दामा समावेश भएको अष्ट्रेलियाको ‘कमनवेल्थ बैंक अफ अष्ट्रेलिया’मा रहेको खाताको सम्बन्धमा भएको सत्यता भने अर्कै छ ।

यस्तो छ तथ्य

श्रेष्ठले सन् २००५ देखि सन् २०१४ सम्म अफगानिस्तानमा अन्तर्राष्ट्रिय संस्थामा रोजगारी र पछि आफ्नै व्यवसाय सञ्चालन गरेका थिए । त्यहीक्रममा उनले दुबईमा समेत कम्पनी स्थापित गरेर अफगानिस्तानमा बेलायत सरकारलगायत अन्य निकायलाई सामग्री आपूर्ती गर्ने काम गर्दैै आएका थिए । त्यसका अतिरिक्त बेलायती सेनालाई उनको कम्पनीले विभिन्न सामग्री आपूर्ती गरेवापत श्रेष्ठलाई बेलायत सरकारले तक्माबाट समेत सम्मान गरेको थियो ।

श्रेष्ठले अफगानिस्तानमा बेलायती सेनालाई सामग्री दिएको रकमको भुक्तानी दुबईमा ‘स्ट्याण्डर्ड चार्टर्ड बैंक’को खातामा हुन्थ्यो । उनले अफगानिस्तानमा रोजगारी एवं व्यवसायबाट भएको आम्दानी नेपाल ल्याएर विभिन्न व्यवसायमा लगानी गर्नुको साथै अन्य सम्पत्तिसमेत जोडेका थिए ।


यसरी विदेशबाट अमेरिकी डलरमा नेपाल रकम भित्र्याउँदा नेपाली बैंकमा डलर खाता खोली भित्राएका थिए । श्रेष्ठको नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंकमा रहेका खातामा विदेशबाट रकम आएको थियो ।

सन् २०१९ को फेब्रुअरी महिनासम्ममा श्रेष्ठले दुबईमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट अधिकांश रकम नेपाल ल्याएका थिए । त्यस समयमा उक्त बैंक खातामा १ लाख २५ हजार ४०३.३३ अमेरिकी डलर मौज्दात रहेको भेटिन्छ ।

सन् २०१८ मा आफ्नो भाई बुहारीसहित अष्ट्रेलिया जाँदा अष्ट्रेलियाको ‘कमनवेल्थ बैंक अफ अष्ट्रेलिया’मा श्रेष्ठले खाता खोलेका थिए । जुन खातामा उनले भाईको नामबाट ५०० डलरसमेत जम्मा गरे । १५ फेब्रुअरी २०१९ मा उक्त खातामा १ लाख ६७ हजार ९५३ अष्ट्रेलियन डलर जम्मा भएको थियो जुन उनको दुबईमा रहेको खाता बन्द गरेपश्चात बैंकबाट सिधै अष्ट्रेलियाको खातामा जम्मा भएको थियो । यसलाई दुबईमा रहेको ‘स्ट्याण्डर्ड चार्टर्ड बैंक’ले खाता बन्द गरेको प्रमाणपत्रबाट पनि प्रष्ट हुन्छ ।

अष्ट्रेलियाको खातामा भाई बुहारीले न्यूनतम रकम जम्मा गरेबाहेक उक्त खातामा जम्मा भएको अर्को रकम भनेको सोही अष्ट्रेलियन डलर १ लाख ६७ हजार ९५३ हो । श्रेष्ठलाई हाल लागेको मुल अभियोगसमेत यही रकमसँग सम्बन्धित छ । उक्त रकम नेपालबाट हुण्डी गरेको नभई उनले दुबईमा आर्जन गरेको रकम दुबईको बैंकबाट बैंकिङ प्रणालीमार्फत अष्ट्रेलिया लगेका हुन् । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम यसरी आर्जन गरेको रकम एक मुलुकबाट अर्को मुलुकमा लाने काम कानूनसम्मत नै मानिन्छ ।

उनीमाथिको मुद्दामा क्यानडाको ‘रोेयल बैंक अफ क्यानडा’मा रहेको खाता र त्यसमा रहेको रकमसँग पनि जोडिएको छ । क्यानडाको ‘रोेयल बैंक अफ क्यानडा’मा रहेको खाताको विषयमा श्रेष्ठको विरुद्धमा दर्ता भएको मुद्दाको वास्तविकता अर्कै छ । वास्तवमा २४ अप्रील २०१९ पछि अष्ट्रेलियाको खातामा रहेको रकम श्रेष्ठको क्यानडामा रहेको खातामा हस्तान्तरण भएको हो ।

यहीकारण २४ अप्रील २०१९ पछि उनको अष्ट्रेलियामा रहेको खाता नै बन्द भएको थियो । र, सोही खातामा रहेको रकम बैंकिङ प्रणालीमार्फत क्यानडाको खातामा जम्मा भएको देखिन्छ ।

श्रेष्ठ क्यानडाको स्थायी बासिन्दा भएको कारण त्यहाँको बैंकमा खाता हुनु स्वभाविकै हो । र, उक्त खाता खोल्ने क्रममा उनले अष्ट्रेलियामा रहेको खाताकै रकम जम्मा गरेको कुरा अष्ट्रेलियाको खाताबाट रकम झिकी सो खाता बन्द भएको तथ्यले समेत प्रष्ट पार्छ ।

त्यस्तै, क्यानडाको रोयल बैंक अफ क्यानडामा रहेको २ लाख ३२ हजार ३ क्यानेडियन डलर रहेको भनि मुद्दा दर्ता भएतापनि सो खातामा हाल लगभग पाँच हजार क्यानेडियन डलर मात्रै मौज्दात देखिन्छ । मुद्दामा उक्त रकम ८ अगस्ट २०१९ सम्म रहेको उल्लेख छ । र, ८ अगस्ट २०१९ सम्म उक्त रकम सो खातामा नरहेको बैंक स्टेटमेण्टबाट प्रमाणित हुन्छ । (बैक स्टेटमेन्ट)

सन् २०१९ को १ जुलाईदेखि २२ अगस्ट २०१९ सम्मको उक्त बैंक खाताको विवरणमा उक्त खातामा जम्मा २३३.८८ क्यानेडियन डलर मौज्दात रहेको देखिन्छ । तर, मुद्दा दायर गर्दा उक्त बैंक खातामा जम्मा भएको र निकालिएको सम्पूर्ण रकमलाई जोडेर २,३२,००३ क्यानेडियन डलर रहेको भनि मुद्दा दायर भएको छ । वास्तवमा बैंक खातामा जम्मा २३३.८८ क्यानेडियन डलर मौज्दात देखिँदा देखिँदै २,३२,००३ क्यानेडियन डलर रहेको भनि मुद्दा दायर भएको छ । जुन अस्वभाविक देखिन्छ ।

अनुमानित डाटाको साहारामा मुद्दा

श्रेष्ठ विरुद्धको मुद्दाको अर्को कारण क्यानेडियन स्टक होल्डिङ्ससम्बन्धि आरोप पनि छ । उनलाई सन् २०२१ मा क्यानडामा ४४ करोड ८ लाख ६४ हजार १६ रुपैयाँ ५९ पैसा बराबरको शेयर खरिद गरेको भन्ने अभियोग छ । विदेशमा नेपालीले शेयर किन्ने कुरा गैरकानूनी मानिँदैन । दोस्रो उनले क्यानडामा सन् २०२१ मा जम्मा खरिद गरेको शेयरको मुल्य ५,३१९.५९ क्यानेडियन डलर रहेको तथ्य रोयल बैंक अफ क्यानडा, डाइरेक्ट इन्भेष्टिङले क्यानडा रेभिन्यु एजेन्सीलाई सन् २०२१ को श्रेष्ठको “T5/NR4 Summary of Investment Income and Expense for 2021” विवरण उपलब्ध गराएकोबाट प्रष्ट हुन्छ ।

यो तथ्य श्रेष्ठ र उनको श्रीमतीले सन् २०२१ को क्यानडाको कर कार्यालयमा बुझाएको आयकर विवरणबाट समेत स्पष्ट हुन्छ । यसरी सन् २०२१ मा श्रेष्ठको जम्मा शेयरमा लगानी र जम्मा रहेको शेयर ५,३१९.५९ क्यानेडियन डलर बराबरको मात्र हो, मुद्दामा उल्लेख भएको ४८,६०,१९०.७७ क्यानडियन डलर अर्थात् ४४,०८,६४,०१६.५९ भने होइन ।

मुद्दा दर्ता गर्दा श्रेष्ठले सन् २०२१ मा ४८,६०,१९०.७७ क्यानेडियन डलर अर्थात ४४,०८,६४,०१६.५९ रुपैयाँको लगानी गरेको भन्ने दुईवटा फोटोको सहायता लिएको छ । उक्त फोटो याहो फाइन्यान्स एपको स्क्रिनसट हो । तर, उक्त स्क्रिनसट श्रेष्ठको याहो फाइन्यान्स एपबाट लिइएको भन्ने कुनै विवरण खुलाइएको छैन ।

स्वयम् श्रेष्ठले आफ्नो याहो फाइन्यान्स एपको यूजरनेम र पासवर्ड अनुसन्धानको क्रममा प्रहरीलाई उपलब्ध गराएका थिए । तर, याहो फाइन्यान्स एपको स्क्रिनसटलाई आधार लिँदा राज्यले अमित श्रेष्ठको याहो फाइन्यान्स एपको विवरणमा कुनै कुरा उल्लेख गर्न भने सकेको छैन ।

अभियोगको मुल आधारको रुपमा रहेको याहो फाइन्यान्स एपको स्क्रिनसट कुनै व्यक्तिको शेयर लगानी प्रतिबिम्बित गर्नको लागि निर्माण गरिएको विवरण होइन । उक्त कुरा काल्पनीक शेयर लगानीको प्रक्षेपण गर्न प्रयोग गरिने कुरा हो ।

याहो फाइन्यान्स एप जो कसैले पनि डाउनलोड गरेर आफूले चाहेको कम्पनी एवं कित्ता शेयर उल्लेख गरी समयको अन्तरालमा सो शेयरको मूल्यलाई अनुगमन गर्न प्रयोग गरिन्छ । हामीले याहो फाइनान्स एप डाउनलोड गरी यसमा आउने डाटाको बारेमा अध्ययन गर्दा अनुमानित डाटा प्रष्टसँग देखियो ।

यसबाट पनि अनुमानित शेयर लगानीको प्रक्षेपण गर्न प्रयोग गरिने एपको कुनै स्क्रिनसटको आधारमा कपोलकल्पित रकम क्यानडामा लगानी गरेको भन्नुले प्रहरीको अनुसन्धानको शैलीमाथि प्रश्न खडा भएको छ । हुन त यस विषय अदालतमा प्रवेश गरिसकेको छ । श्रेष्ठ गलत हुन् वा होइनन् भन्ने बारे अदालती आँखाले ठम्याउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?