एजेन्सी । क्रोशियाका कप्तान लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन् ।
रसिया विश्वकपमा क्रोशियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मोड्रिचलाई 'फिफा वर्ष खेलाडी'को अवार्ड प्रदान गरेका हुन् । उनले ब्यवसायिक क्लब खेल जीवनमा पनि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका छन् । हाल उनी स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल खेलिरहेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले मंगलवार बिहान घोषणा गरेको अवार्डमा मोड्रिचले पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन्।
लण्डनस्थित रोयल फेस्टिबल हलमा मंगलवार बिहान विशेष समारोहकाबीच ‘फिफा’ले मोड्रिचलाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
सन् २००७ यता अर्जेन्टिनाका लियोनल मेस्सी र रोनाल्डोले यो अवार्ड जित्दै आएको थियो । तर, ११ वर्षपछि नयाँ खेलाडीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सी र रोनाल्डोले यो अवार्ड समान पाँच-पाँच पटक जितेका छन् ।
फिफाले राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडीको चयन गरेको हो । यसअघि उनले रसिया विश्वकपमा पनि उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जितेका थिए ।
मोड्रिच यसै वर्ष मात्र ‘युइएफए’ प्लेयर अफ दि इयर पनि घोषित भएका थिए ।
यता, उत्कृष्ट महिला फुटबलरको अवार्ड भने ब्राजिलकी मार्टाले हात पारिन् । उनले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । मार्टाले छैटौँ पटक यो अवार्ड जितेकी हुन् । उनको नेतृत्वमा ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको थियो । उनले अहिलेसम्म ब्राजिलका लागि ३१ गोल गरिसकेकी छिन् ।
यस सिजनमा उनले १३ गोल गर्दै उनको क्लब ओर्लान्डो प्राइडलाई अमेरिकामा सेमिफाइनलसम्म पुर्याएकी थिइन् ।
फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पर्दै फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले फ्रान्सलाई रसिया विश्वकपको उपाधि दिलाएका थिए ।
यता रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् ।
रसियामा सम्पन्न भएको विश्वकपका दौरान लामो दुरी पार गरेर झन्डै ४० हजारको संख्यामा रुस पुगेका पेरुराष्ट्रिय फुटबल टोलीका समर्थकले उत्कृष्ट समर्थकको उपाधि हात पारे ।
यता, नेदरल्याण्ड्सको क्लब 'भीभीभी भेन्लो'का खेलाडी लेन्नार्ट थिले 'फेयर प्ले'को अवार्ड प्राप्त गरे । उनले एक समर्थकलाई रगत दिनुपर्ने अवस्थामा क्लबको महत्वपूर्ण खेल छाडेर समर्थकको ज्यान बचाएका थिए ।
त्यस्तै, मंगलवार बिहानै ‘फिफा’ले वर्षको ड्रिम टिम सार्वजनिक गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी अटाएका छन् ।
ड्रिम टिममा ब्राजिलियन स्टार नेयमार भने पर्न असफल भए। ड्रिम टिममा क्लब फुटबल र रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु परेका छन् ।
ड्रिम टिममा पर्न सफल गोलकिपरमा डेभिड डी गिया, डिफेन्डरहरुमा सर्जियो रामोस, मर्सेलो, ड्यानी अल्भेस र राफेल भरोन रहेका छन् । यता, मिडफिल्डरहरुमा अन्गोलो कान्टे, लुका मोड्रिच र इडेन हाजार्ड छन् ।
फरवार्डमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र केलियन एमबाप्पे रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया