छानबिन समितिले भन्यो – डिल्ली विष्टको गम्भीर त्रुटि

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको घटनाको छानबिन गर्न गठित समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेदन बुझाउँदै गम्भीर त्रुटि औँल्याएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख हरिप्रसाद मैनालीको नेतृत्वमा बनेको छानबिन समितिले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटि’ भएको बताएको छ । 

निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको स्थानीयको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको थियो । समितिले तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग बयानसमेत लिएको थियो ।

बयानका क्रममा सीडीओ कुमार बहादुर खड्काले गोली नचलाउनू भनेर प्रहरी उपरीक्षक विष्टलाई आदेद दिएको जानकारी गराएका थिए । तर, कञ्चनपुरमा आन्दोलनका क्रममा प्रहरीले भदौ ७ गते र अन्य दिन पनि गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुरमा प्रहरीले गोली चलाएपछि पटक–पटक फोन गर्दा पनि फोन नउठाएको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘निर्मलाको सुरुवाल धुनु, शरीरमा लागेको माटो पखाल्ने लगायतका कार्य प्रहरी अनुसन्धानको मर्मअनुसार देखिएन, घटनास्थलबाट प्रमाण संकलनमा लापरवाही हुँदा घटनाको अनुसन्धान थप जटिल बनेको छ ।’

प्रतिवेदनमा प्रहरीको कमजोरी देखाउँदै थप व्यक्तिहरुलाई अनुसन्धान गर्न समेत भनिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानका क्रममा एसपी डिल्ली विष्टको डीएनए परीक्षण समेत गरिने भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?