‘अप्रिल फुल’का लेखक भन्छन्, ‘कथा लेख्न शुरु गरेँ, उपन्यास भइदियो’

‘कथा लेख्न शुरु गरेँ । उपन्यास भइदियो ।’ पछिल्लो समय युवा पुस्तामाझ व्यापक चर्चा कमाएको पुस्तक ‘अप्रिल फुल’का लेखक कृष्ण आचार्यले आफ्नो पुस्तकको इतिहास यसरी उद्घाटन गरे ।

पेशाले पत्रकार आचार्य कामको सिलसिलामा सधैं व्यस्त । प्रायजसो दिउँसो र रातको समय कामलाई नै दिनुपर्ने भएकाले आफ्नै लागि बिहानको समय मात्रै थियो । बिहानको त्यो छोटो थोरै समय पनि उनले खेर फाल्न चाहेनन् । हरेक बिहान उनी कागज, कलम लिएर बस्थे विभिन्न पात्रहरुको कथा बुन्दै । बुन्दाबुन्दै उनका पात्रहरु कथामा अँटाउन छाडे ।

अन्ततः साथीहरुले पनि कथामा मात्र सिमित नहुन सल्लाह दिएपछि उनले ‘अप्रिल फुल’ लेख्ने निर्णय गरे । २ सय ६७ पृष्ठ रहेको यो उपन्यास लेख्न उनलाई ४ वर्ष लाग्यो । यति धेरै समय र मिहिनेत खर्च गरेर लेखेकाले पनि यो पुस्तक उनका लागि खास छ । फेरि, ‘अप्रिल फुल’ले उनका लागि थप पुस्तक लेख्ने बाटो पनि खुलाएको छ ।

आचार्यका अनुसार पाठकहरुबाट राम्रै प्रतिक्रिया पनि बटुलिरहेको छ ‘अप्रिल फुल’ ले । पहिलो पुस्तकले नै आफ्नो पोल्टामा यति धेरै प्रशंसा भरिदिएकाले उनी दङ्ग छन् । व्यवसायिक रुपमै लेखक नभएकाले आफूले लेखेको पुस्तक कस्तो हुन्छ भन्ने अन्यौलता उनमा छँदै थियो । यद्यपी सकारात्मक ‘फिडब्याक’ हरु आउन थालेपछि आचार्य केही राहत महसुस गरिरहेका छन् । यसले उनलाई आगामी दिनमा थप पुस्तक लेख्न प्रोत्साहन गरेको उनले बताए । 

उपन्यास बजारमा आउनु अघि नै यसले पाठकको मनमस्तिष्कमा धेरथोर छाप छोडिसकेको थियो । कारण ; यसको प्रीथक नाम । 

टाइटल सुनेरै कतिपयलाई पुस्तकमा के होला भन्ने चासो परिसकेको थियो । कतिले आचार्यलाई सोधे पनि ‘यस्तो नाम किन ?’ तर, किताब बजारमा नआउन्जेल उनले कारण खुलाउन चाहेनन् । सस्पेन्स नै रहन दिए । 

त्यसो त उनले पात्रहरुको नामबाट किताबको नाम जुराउने कोसिस नगरेका होइनन् । तर, यस्ता पुस्तकहरु बजारमा छताछुल्ल पाइने भएकाले यो आइडिया उनलाई त्यति खास लागेन । पछि सोच्दै जाँदा उनको दिमागमा ‘अप्रिल फुल’ नाम फुर्यो । नाम यस कारण पनि फुर्यो कि उपन्यासमा कतिपय घटनाहरु उक्त दिनसँग सम्बन्धित छन् । साथीहरुलाई यस नामका बारेमा सोध्दा सबैले सकारात्मक प्रतिक्रिया दिएपछि यही नाम रहन गएको आचार्य बताउँछन् । ‘नाम पनि एक्स्ट्रा । फेरि, किताबसँग ‘रिलेटेड’ पनि छ त्यसैले यही नाम राखियो ।’ उनी हल्का मुस्कुराए । 

नाम नै फरक भएपछि कथा पनि पक्कै वेग्लै होला भन्ने कौतुहलताका कारण पनि यस पुस्तकले धेरै पाठक कमाएको हुन सक्छ । उनी भन्छन्, “नाम सँगसँगै यस पुस्तकको कथावस्तु पनि फरक छ ।” पुस्तकको कभर हेर्दा विशुद्ध मायाप्रेमकै विषयमा केन्द्रित भएर लेखिएजस्तो लागेतापनि पढ्दै जाँदा पुस्तकमा समाजका अन्य पाटाहरुलाई पनि केलाउन खोजिएको छ । ‘त्यसैले त युवा वर्गले मात्र होइन सबै उमेरका व्यक्तित्त्वहरुले पनि पुस्तक अत्यन्तै मन पराउनु भएको छ ।’ उनले खुलाए । कथाका पात्रहरुले माया मात्र नभएर समाजका विविध पक्षहरुलाई मिहिन ढंगले केलाएर पस्केको हुनाले नयाँ फ्लेभर दिन्छ भन्नेमा लेखक ढुक्क छन् ।

हुन त मायाप्रेमलाई विषयवस्तु बनाएर लेखिएका पुस्तकहरु तुलनात्मक रुपमा बढी लोकप्रिय भइरहेको अवस्था छ । छोटो समयमै बढी लोकप्रियता हाँसिल गर्नलाई लेखकहरुले यही विषयमा कलम चलाएका हुन् भन्ने प्रश्नमा आचार्यले टाउको हल्लाउँदै होइन भन्ने सङ्केत गरे । ‘हरेक लेखकको आफ्नै शैली हुन्छ । निश्चित क्षेत्रमा कलम चलाउने ‘इन्ट्रेस्ट’ हुन्छ । एउटै व्यक्तिले धेरैवटा विधालाई समेट्न खोज्दा पाठकलाई सन्तुष्ट बनाउन सकिँदैन ।’ यसो भन्दै उनले आफ्नो सङ्केतलाई प्रष्ट्याए ।

उनलाई भने प्रेम र समसामयिक विषयवस्तुमै आधारित भएर शब्द बुन्न मनपर्छ । उनले बुनेका शब्दहरु धाराप्रवाहमा बगेका हुन्छन् भनेर धेरैले यही पुस्तक पढेपछि प्रतिक्रिया दिएका हुन् । हरेक लेखकका लेखहरुमा केही अंश उनीहरुकै जीवन झल्किएको हुन्छ भन्ने मान्यता छ । तर, आचार्य यसमा विश्वास गर्दैनन् । उदाहरणका रुपमा आफ्नै पुस्तकलाई तेस्र्याउँछन् । ‘अप्रिल फुल’ उनको भोगाईबाट रत्ति पनि प्रभावित छैन ।

‘कतिपय कुराहरु देखेर सुनेर पनि त जानिन्छ होइन र ?’ उनी लाउड्ली हाँसे ।       

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?