काईंयो र कैंचीले फेरेको जीवन : व्यवसायी राज लामिछानेसँग एकछिन

‘अब पढाइ बिगारिहालिस् । जागिर पाउनु त उई हो ! हजाम हुनै सुहाउँछ तँलाई !’ यो वा यस्तै किसिमका ‘डायलग’ नेपाली कानको लागि नौलो होइन । राम्रो नपढ्दा, काम बिगार्दा आमाबुबाले भन्ने यही हो । छोराछोरीले सुन्न बानी परेको पनि यही हो ।

यो अभिव्यक्तिमा ‘हजाम’लाई काम नलाग्ने पात्रको रुपमा चित्रित गरिएको छ । जो पढ्दैन, समरस्वाँठ । कुनै काम गर्ने योग्यता नभएको । उसको अन्तिम विकल्प हजाम बन्ने नै हो भन्नेमा  फोकस भएको शब्दावली । 

हुन त पहिलेपहिले नपढेका, रोजगारीको कुनै विकल्प नभएका व्यक्तिहरुले मात्र यो पेसा अपनाउँथे । तर, अहिले भने दृश्य आकाश जमिनको अन्तरमा बदलिएको छ । ‘हजाम’ हरु ‘हेयर ड्रेसर’ मा परिमार्जित भएका छन्, कपाल काट्ने ६ बाइ ७ का साँघुरो कोठा वा सडकको छेउकुना फराकिलो ‘पार्लर’मा परिणत भएको छ । यही पेसाले धेरैलाई रोजगारी दिएको छ । केहीलाई सफल व्यवसायी पनि बनाएको छ ।

यसमा राज लामिछाने पनि पर्छन् । काठमाडौंको लैनचौरमा अवस्थित ‘लरियल प्रोफेस्नल स्टाइल अन म्याट हेयर एण्ड ब्यूटी सलोन’ का संस्थापक राज करिब दुई दशकदेखि यही क्षेत्रमा संलग्न छन् । फराकिला कोठाहरु, चम्किला लाइट, आकर्षक इन्टिेरियर डिजाइन, सजावट सबै हेर्दा राजले राम्रै लगानी गरेका छन् भन्ने प्रष्ट हुन्छ ।

भारतमा एक वर्ष हेयर ड्रेसिङ सम्बन्धि विशेष प्रशिक्षण लिएर १५ वर्ष उतै काम गरेका राजले आफ्नै व्यवसाय भने दुई वर्ष अघि मात्र शुरु गरेका हुन् । ‘अर्काको लागि काम गर्दागर्दा दिक्क लाग्यो । अब आफंै आफ्नो मालिक बन्ने हो भन्ने सोचेर व्यवसाय शुरु गरेँ ।’ यसो भन्दै आफ्नो व्यवसाय यात्राका बारेमा भन्न शुरु गरे ।

चितवन घर भएका राज एसएलसीपछि उच्च शिक्षाका लागि साथीकै होडमा भारत पुगे । पढाइ साथै उनले हेयर ड्रेसिङ सम्बन्धि विशेष तालिम लिए । भारतको राजधानी नयाँ दिल्लीमा १५ वर्षसम्म यही क्षेत्रमा काम गरे । यतिका वर्षसम्म अरुको ‘अन्डर’मा काम गरेका उनलाई आफै व्यवसाय शुरु गर्ने इच्छा थियो । आफ्नै देशमा । त्यसैले उनी नेपाल आए । तर नेपालको बजार उनका लागि नौलो थियो । यहाँको व्यापारिक परिवेश बुझ्न केही समय लाग्यो । जब बुझे, उनलाई आफ्नो व्यवसायका लागि काठमाडौं नै सबैभन्दा उपयुक्त ठाउँ हो जस्तो लाग्यो ।‘देशभरिमा सबैभन्दा बढी मान्छे यहीँ छन् । फेरि प्राय सबै ‘फेसन कन्सियस’ । त्यसैले अरु ठाउँभन्दा यहीँ व्यवसाय फस्टाउँछ जस्तो लाग्यो ।’ राजले राजधानी नै छान्नुको कारण खुलाए । 

व्यवसाय शुरु भयो । शुरुवाती केही दिनसम्म सोचे जति व्यापार नभएको देख्दा उनी यो निष्कर्षमा पुगे कि राजधानीमा बजार त छ तर तीव्र प्रतिस्पर्धाको । यहाँको प्रतिस्पर्धात्मक माहोल देखेर उनी केही हच्किए । तर, ब्याक भएनन् ।  रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालहरु मार्फत् विज्ञापन दिएपछि विस्तारै बजारमा पहिचान बढ्दै गयो । र, व्यापारले पनि आफ्नो गति लियो । अहिले उनको पार्लरमा ५ जना कर्मचारीले रोजगारी पाएका छन् । 

राज पनि सन्तुष्ट छन् आफ्नो व्यापारदेखि । व्यापार अझै फस्टाउँदै गएमा छिट्टै यसको शाखा पनि खोल्ने उनको सोच छ । ‘आफ्नो जन्मथलो चितवनमै खोल्छु । भगवानले साथ दिए !’ कुन ठाउँ प्राथमिकतामा छ भन्ने हाम्रो प्रश्नको उत्तरमा उनले दिएको जवाफ हो यो । 

राज आफूसँग हेयर स्टाइलिङको राम्रो ज्ञान भएको बताउँछन् । ‘फिडब्याक पनि त्यस्तै आउँछ । मैले काटेको कपाल कस्टमरले बडो रुचाउनुहुन्छ ।’ यसो भन्दा उनी मख्ख भावभंगीमा देखिए ।

युवापुस्ता ट्रेन्ड फलो गर्ने भएकाले सौन्दर्यकर्मीहरुले पनि ट्रेन्ड बुझ्नुपर्छ, अपडेटेड भइरहनुपर्छ भन्ने राजको मान्यता छ । केटी मात्र नभएर केटाहरु पनि फेसन फलो गर्न थालेका छन् । हेयरकटहरु चेन्ज गरिरहन्छन् । त्यसैले उनीहरुको लागि पनि नयाँ स्टाइलहरु जान्नुपर्ने प्रेसर हुन्छ हेयर ड्रेसरलाई ।

‘केटीहरु हिरोइनको हेयर स्टाइल फलो गर्छन् ।’ केटीहरु प्राय हिरोइनको वा मोडलको फोटो देखाएर कपाल काट्न आउने राजले बताए । ‘केटा पनि यो मामिलामा कम छैनन् ? फुटबलरहरुको हेयर स्टाइल फलो गर्छन् नि !’ यसपाली भने राज मज्जैले हाँसे ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?