खस्कदैँ महिला क्रिकेट, एकादेशको कुरा : नेपालले उपाधिमा ह्याट्रिक गरेको थियो !

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी अलआउण्डर सरिता मगरले नेपालको खेलस्तर घट्दै गएको बताएकी छिन् । 

९ वर्षदेखि नियमित राष्ट्रिय टिमबाट खेल खेलिरहेकी थापाले घरेलु मैदानमा कम प्रतियोगिता आयोजना हुँदा खेलको स्तर दिनप्रतिदिन खस्कदैँ गएको बताएकी हुन् । 

‘‘वर्षमा एक-दुई वटा प्रतियोगिता आयोजना हुन्छ, त्यसमा पनि महिला खेलाडीलाई पहिलो प्राथमिकतामा राख्दैन, हाल महिला टोलीको खेल तालिकामा कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । टिममा मात्र छ खेल्ने प्रतियोगिता छैन ।’’ उनले लोकपथलाई बताइन् ।

 ‘‘राष्ट्रिय खेलाडी नाममा मात्र सिमित छन् । हामीहरु अहिले राष्ट्रिय खेलाडी भएपनि क्लब खेलमा मात्र सिमित भएका छौँ । खेल्नको लागि कुनै प्रतियोगिता छैन । दैनिक अभ्यासमा नै हाम्रो खेल स्तर सिमित भएको छ ।’’ उनले थपिन् ।

हाल शसस्त्र प्रहरी ‘एपीएफ’मा जागिरे समेत भएकी मगरले एसिसि कपमा इरानविरुद्धको खेलमा सर्वाधिक ७२ रन बनाएकी थिइन् । त्यतिबेला उनले नेरी थापाले बनाएको ६२ रनको कीर्तिमान तोडेकी थिइन् । 

‘‘हङकङ, चीन, थाइल्याण्डको खेलस्तर पहिले हाम्रो भन्दा निक्कै तल थियो, त्यतिबेला हामीले ती राष्ट्रलाई सहजै पराजित गर्न सक्यौँ । तर अहिले हामी ती राष्ट्रसँग खेल्न डराउनु पर्ने स्थिती आएको छ । हामी महिला क्रिकेट खेलाडीलाई खेल्ने प्रतियोगिता र ट्रेनिङको अभाव छ ।’’

उनी भन्छिन्, ‘‘नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद चाडै सुल्झिएदेखि महिला खेलाडीहरुले पनि अन्तर्राष्ट्रिय मैदानमा खेल्ने अवसरहरु सृजना हुने थियो, अहिले हामी नेपाली खेलाडीहरु भित्र मात्र खेल स्तर देखाइरहेका छौँ । आशा गरौं चाडै नै हामी खेलाडीहरुले इन्टरनेशनल एरिनामा खेल्न पाउनेछौँ ।’’

सन् २०१३ मा भएको एसिसि यू-१३ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएकी थिइन् ।

त्यहि खेलको मुल्याङ्कन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको नोमिनेशनमा समेत परेकी थिइन् । साथै, उनले घरेलु मैदानमा वि.स २०७२ सालमा आयोजना भएको ‘प्रधानमन्त्री कप’का दौरान ह्याट्रिकसँगै ६ विकेट लिएकी थिइन् । 

महिला क्रिकेटको इतिहास 

सन् २००७ मा मलेसियामा आयोजना भएको एसीसी महिला प्रतियोगिताबाट नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको हो । 

पहिलो सहभागितामा नै नेपाल उपविजेता बन्दै नयाँ इतिहास रचेको थियो । त्यतिबेला नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय महिला क्रिकेटमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको थियो । त्यस्तै, सन् २००८ मा महिला क्रिकेट टोलीले कप्तान नेरी थापाको नेतृत्वमा रहेको महिला टोलीले थाइल्याण्डमा भएका ‘एसीसी’ यु-१९ महिला च्याम्पियनसीपको उपाधी जित्यो । सन् २०१० मा सम्पन्न  ‘एसीसी’ यु-१९ च्याम्पियनसीपमा नै नेपालले अर्को उपाधि भित्र्यायो । 

सन् २०१२ को संस्करणमा सम्पन्न भएको यु-१९ महिला च्याम्पियनसीपको उपाधि जित्दै नेपाली टोलीले उपाधिमा ह्याट्रिक गरेको थियो । 

नेरी थापा, रुबिना क्षेत्रि, सिता राना मगर, सरिता मगर, रोशनी बोहरा र सोनु खड्का जस्ता प्रतिभावान खेलाडीहरु रहेको नेपाली महिलाले त्यसपछि अर्को उपाधि हात पार्‍यो । 

सन् २००९ मा मलेसियामा सम्पन्न ‘एसीसी’ टि-२० च्याम्पियनसीपमा सिंगापुरविरुद्धको खेलमा नेपालकी रुबिना क्षेत्रीले एकै ओभरमा सर्वाधिक ५ विकेट लिन सफल भइन् । उनको महत्वपूर्ण योगदानले नै नेपालले त्यतिबेला खेल आफ्नो पक्षमा पारेको थियो । 

यता, नेपालले सन् २०१० र २०११ मा  एशियन गेम्स खेल्ने मौका पाएको थियो । तर, नतिजा भने खासै राम्रो थिएन् ।  सन् २०११ कुबेतमा सम्पन्न ‘एसीसी’ टी-२० च्याम्पियनसीप अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा करुणा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । 

यता, सन् २०१७ मा थाइल्याण्डमा नै भएको टि-२० वल्डकप क्रिकेटको एशियन क्वालिफाइङमा नेपाली बलर सबनम राईले ह्याट्रिक लिन सफल भइन् । त्यतिबेला उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने तेस्रो नेपाली महिला खेलाडी बनिन् । 

सन् २०१२ मा सम्पन्न महिला एशिया कप, २०१४ को एशियन गेम्स, २०१६ को विमेन्स वल्र्डकप एशियन क्वालिफाइङ म्याच,  एशिया कप हुँदै सन् २०१७  वल्र्डकप एशियन क्वालिफाइङसम्म आइपुग्दा नेपाली महिला खेलाडीको प्रर्दशन दिनप्रतिदिन खस्कंदै आएको थियो । 

पुरुष क्रिकेट टिमको तुलनामा महिला क्रिकेट टिमलाई कम प्राथमिकतामा राख्दै आइरहेको छ । नेपाल सरकार र अन्य क्षेत्रबाट पनि महिला क्रिकेटलाई पर्याप्त लगानी गर्न सके थाइल्याण्ड, चीन र हङकङ टिमले जस्तै थुपै सफलताहरु हासिल गर्न सक्थ्यो । तर, विडम्बना नेपालमा अहिलेसम्म नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद समाधान समेत हुन सकेको छैन् ।

घरेलु क्रिकेटलाई मजबुत बनाउँदै महिला खेलाडीहरुलाई नियमित अभ्यास दिनुका साथै, स्थायी प्रशिक्षकको व्यवस्था गर्न सके नेपालले अझ धेरै सफलता हात पार्नेमा दुई मत छैन । 

अन्तर्राष्ट्रिय क्रिकेट स्तरमा समेत आफ्नो बलियो दाबेदारिता प्रस्तुत गरिसकेको नेपाली टिमको खस्कदो खेल स्तरलाई बेलैमा सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?