काठमाडौं । काठमाडौँ जिल्ला भारोत्तोलन सङ्घको आयोजनामा दोस्रो संस्करणको सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ ।
यही असोज १७ र १८ गते हुने प्रतियोगिताको खेल ललितपुरस्थित अग्नि ब्याङ्क्वेटमा हुने सङ्घद्वारा बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष बिजेन्द्रविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सिनियर महिलातर्फ सात तौल समूह, सिनियर पुरुषतर्फ ८ तौल समूह, जुनियर महिलातर्फ ७ तौल समूह र जुनियर पुरुषतर्फ ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिनियर तथा जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी माथि र महिला सिनियर तथा जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजी माथि तौल समूह प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करीब एक सय खेलाडीले कूल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ र एशियाली भारोत्तोलन महासङ्घको नियमानुसार खेलाइने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै सिनियर महिला तथा पुरुष दुवैतर्फ सबैभन्दा बढी भार बहन गर्ने खेलाडीलाई दोस्रो बलशाली महिला तथा पुरुष २०१८ ‘सेकेण्ड नेपाल्स स्ट्रोङगेस्ट ओमेन र मेन २०१८’ उपाधिका साथै प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरिनेछ ।
सिनियर तथा जुनियर महिला पुरुष दुवैतर्फ उत्कृष्ट भारोत्तोलकलाई उत्कृष्ट भारोत्तोलक उपाधिका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्ने पुरुष र महिला खेलाडीलाई नगद तथा प्रमाणपत्र तथा जुनियरतर्फ उदीयमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । जुनियरतर्फ २० वर्ष मुनिका खेलाडीले सहभागिता जनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया