करिब ३५ वर्षदेखि नेपाली फुटबल जगतको सेरोफेरोमै घुमिरहेको एक नाम हो– गणेश थापा । विभिन्न विवाद र चर्चाका कारण थापा राष्ट्रिय र अन्तराष्ट्रिय संचारमाध्यममा समाचारको हेडलाइन बारम्बार बनिरहे ।
फुटबलरको रूपमा थापाले नेपाली राष्ट्रिय टोलीमा १५ वर्ष बिताए । यो क्रममा उनले धेरै विदेशी क्लवहरुसँग पनि व्यावसायिक खेलहरु खेले । खेलाडी जीवनबाट विश्राम लिए लगत्तै उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तहमा पुगे । फुटबलर हुँदा फुटबलको पर्यायवाची बनेका थापाको महत्वकांक्षा यसरी बढ्दै गयो कि उनको पहुँच एसियाली फुटबल महासंघमा मात्र नभएर अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) मा समेत देखिन थाल्यो ।
फुटबलको नीति निर्माण तहमा बसेर उनको पहुँच बढ्नुमा भ्रष्टाचारको पक्षधर हुनु नै थियो । जसको कारण उनलाई फिफाले फुटबलको कुनै पनि गतिविधिमा अयोग्य सावित गर्दै १० वर्षको प्रतिबन्धसमेत लगायो । फिफाले लगाएको प्रतिबन्ध ६ वर्ष बितिनसक्दै थापाले हालै सम्पन्न एन्फाको निर्वाचनमा गेम चेन्जर भूमिकामा प्रस्तुत भए ।
फिफाको प्रतिबन्धले कुण्ठित भएका थापाले ६ वर्षको आक्रोश फेसबुकमार्फत एन्फा निर्वाचन अघि पोखे । उनको आशय थियो– ‘आफूले भ्रष्टाचार गरेको ठहर गरेर फिफाले निकालेपनि एन्फाको पछिल्लो नेतृत्वले राम्रो काम गर्न सकेन ।’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
थापाले सन् २०११ मा भएको फिफा कांग्रेसको निर्वाचनमा घूस लिएको आरोपसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेको थियो । थापालाई त्यो बेला १० वर्षको प्रतिबन्ध सहित २१ लाख जरिवाना समेत तोकिएको थियो । फिफाले थापामाथि लगाएको यो पहिलो निलम्बन भने थिएन । त्यसअघि पनि थापाले ५८ करोड भ्रष्टाचार गरेको ठहर गर्दै लेखा समितिले अध्यक्ष पद निलम्बन गरेपछि फिफाले उनलाई १२० दिन निलम्बन गरेको थियो ।
वि.सं. २०५१ सालदेखि एन्फा अध्यक्षको बागडोर सम्हालेका थापाको कार्यकाल उनलाई सुखद रहेपनि खेल जगतमा भने धेरै प्रश्नहरु उब्जिएका थिए । गणेश थापाको कार्यकाललाई अनेक विवाद र आर्थिक अनियमितताको कार्यकाल भन्दा फरक नपर्ने नै देखियो । अन्तर्राष्ट्रिय अनुदानको रकम व्यक्तिगत खातामा जम्मा गर्ने, गोल प्रोजेक्टको रकम हिनामिना गरेको, एन्फाको ५८ करोड रूपैयाँ अनियमितता गरेको, निर्माणजन्य काममा सार्वजनिक प्रतिस्पर्धा नगराएको, पारिश्रमिकको रकम कर दाखिला नगरेको, बैंक खाता लगायतका विषयमा आर्थिक अनियमितता गरेको, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निर्माण गर्दा उनले निर्माणको ठेक्का दिएको निर्माण कम्पनी अस्तित्वमै नरहेको फेला परेको थियो । यस्ता किसिमका विभिन्न अनियमितता थापाको कार्यकालमा भए ।
एन्फामा यसरी भयो थापा परिवारको रि–इन्ट्री :
फिफाले थापाविरुद्ध प्रतिबन्ध लगाउनु भन्दा अगाडी नै ‘चेन्ज एन्फा’ को नाराका साथ कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ देखा परेका थिए । थापालाई प्रतिबन्ध लगाएपछि शेर्पाले एन्फाको निर्वाचनमा बहुमत ल्याए । शेर्पाले पहिलो कार्यकाल पुरा गर्ने तरखरमै रहँदा रहँदै शेर्पा र नेम्वाङबिच धु्रविकरण देखियो र दोस्रो निर्वाचनमा विभाजित नै भए ।
यता एन्फामा दाउ हेरेर बसेका थापालाई शेर्पा र नेम्वाङबिचको तिक्ततामा रिइन्ट्रीको बाटो खुल्यो । ८७ भोटका लागि भएको निर्वाचनमा शेर्पा र नेम्वाङ दुवैसँग प्रष्ट बहुमत थिएन । दुवै अध्यक्षका प्रत्यासी भएपनि कसैको स्पष्ट बहुमत नपुग्ने अंकगणित थाहा पाएका थापाले छोरा गौरवलाई एन्फाको सिईओ बनाउने शर्तसहित आफ्नो समूहको निर्णायक मत नेम्वाङलाई दिने योजना बनाए । असार ६ गते भएको निर्वाचनमा शेर्पालाई ५ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा पनि चुनिए ।
निर्वाचन अघि सहमति, अहिले आउट :
थापाले एन्फामा आफ्नो छोरा गौरबलाई सिईओ बनाउने सहमतिसहित निर्वाचनमा नेम्वाङलाई जित त दिलाए । तर, एन्फा कार्यसमितको तेस्रो बैठकपछि भने थापाको मिहेनेत र जोडबल बालुवामा पानी हालेको झैं साबित भयो ।
एन्फाको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकमा उपाध्यक्ष दीपक खतिवडाले दुई वटा एजेण्डा थपे । जसमा एन्फा प्रवक्ता र प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको विषय थपियो । दोस्रो बैठक मै विवाद भएर स्थगित भएको उक्त एजेण्डा तेस्रो बैठकमा भने समावेश नै भएन । गौरवलाई सिईओ बनाउन माग गर्नेहरुले नै अहिले थापाको साथ छोडेको देखिन्छ ।
त्यसो त फिफाले थापालाई १० वर्षको प्रतिबन्ध लगाउँदा उनका छोरा गौरव पनि अप्रत्यक्ष रुपमा उक्त अभियोगमा मुछिएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको सार्वजनिक भएको थियो । त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किए । उक्त केसमा नमुछिएका भएपनि उनलाई नियुक्ती गर्ने नेम्वाङ पक्ष राजी पनि हुन्थे होला तर नियुक्तीका लागि सिफारिस गरेर आफ्नै छवी बिगार्न नचाहने जानकारहरु बताउँछन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले आफूले कुनै पनि व्यक्तिलाई यो वा त्यो पदमा मनोनित गर्नुपर्छ भनेर नभनेको लोकपथसँगको कुराकानीका क्रममा बताए । सिईओबारे मिडियामा आएका कुराहरु सत्य नभएको उनको दाबी छ ।
सरसर्तिहेर्दा गौरवको नियुक्तीको विषय आउट अफ सिनारियो भइसकेको छ । एन्फाका खेलाडी मानिने थापालाई नै उनका आफ्ना भन्नेहरुले खेलाएको स्पस्ट देखिन्छ । निर्वाचित हुन साथ लिएपनि निर्वाचित भएपछि थापाका मागहरु सम्बोधन भएका छैनन् ।
यता निर्वाचनमा हार व्यहोरेर बसेका कर्मा छिरिङ शेर्पा अहिले यो विषयमा आफू केही नबोल्ने बताउँछन् । निर्वाचित भएर गएकाहरुलाई काम गर्न दिने उनको भनाइ छ । शेर्पा पक्षबाट निर्वाचित प्रतिनिधिहरु एन्फामा भइरहेको रमिता हेरेर बसिरहेका छन् ।
एन्फा अध्यक्ष पंकज नेम्वाङले एन्फाको विदेश विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेका थिए तर अहिले एन्फामा पाँडेलाई बर्खास्त गर्ने विभिन्न योजनाहरु बनेको पनि देखिन्छ । १० जना सदस्यहरुले त विदेश विभाग प्रमुख पाँडेलाई बर्खास्त गर्नका लागि बहुमत हस्ताक्षर गरेर निवेदन दर्तासम्म गराएका छन् ।
नयाँ कार्यसमितिमा बनेको यो दुई धारलाई एक धार बनाउन मुस्किल हुने जानकारहरु बताउँछन् ।
एन्फा प्रवक्ता सुरेश शाहाले हाल एन्फामा सिईओ नियुक्तीका विषयमा केही नरहेको बताए । पछिल्लो बैठकमा कार्यसमितिले उक्त एजेण्डा नै प्रस्तुत नगरेकाले आगामी बैठकहरुमा एजेण्डासहित आए छलफल हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया