मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुनेमा नेपालीको संख्या १० पुग्यो

मलेसिया । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । 

विषाक्त रक्सीका कारण उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० पुगेको हो । 

यसअघि मलेसियाको विभिन्न अस्पतालमा उपचारकै क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना खुल्न नसकेको शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह राणाको मृत्यु भएको हो । 

यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो ।

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै विषाक्त रक्सीका कारण मृत्यु भएका मध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएरहेको नेपाली दूतावासले जानकारी दिएको छ । 

दूतावासका अनुसार मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राणा र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल पठाउन लागिएको छ । 

उनीहरुको शव शुक्रबार (भोली)सम्म नेपाल पठाउने तयारी भइरहेको छ भने बाँकी चार जनाको शव नेपाल पठाउनको लागि आवश्वय प्रक्रिया भइरहेको पनि नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?