ला लिगा फुटबलमा रियल म्याड्रिड र बार्सिलोनाको पहिलो हार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड र बार्सिलोनाले  पहिलो हार बेहोरेको छ । 

बुधवार राति सम्पन्न भएको लिगको छैँटो चरणको खेलमा रियल म्याड्रिड सेभिल्लासँग ३-० गोल अन्तरले पराजित भएको हो । रियल म्याड्रिडले ला लिगामा ब्यहोरेको यो पहिलो हार हो । खेल शुरु भएको १७ मिनेट पनि बित्न नपाउँदै सेभिल्लाका लागि आन्द्रे सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै, २१ औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको ३९ औँ मिनेटमा बेन एडेरले गोल गरे । खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरले अगाडि रहेको सेभिल्लाले दोस्रो हाफमा भने गोल गर्न सकेन् ।

निर्धारित समयसम्म रियल म्याड्रिडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल ३-० हार्‍यो । हारका बाबजुत म्याड्रिड लिगको दोस्रो स्थानमा यथावत छ भने १० अंक बनाउँदै  सेभिल्ला अंक तालिकोको चौँथो स्थानमा उक्लिएको छ । 

यता, बुधवार राति नै भएको अर्को खेलमा लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना लेगानेशसँग २-१ गोल अन्तरले पराजित भयो । लेगानेशका लागि खेलको ५२ औँ मिनेटमा एल्जार र ५३ औँ मिनेटमा ओस्कार रोड्रिगेजले गोल गरे । बार्सिलोनका लागि भने फिलीप कौटिन्होले एक मात्र गोल फर्काए । 

१३ अंकका साथ बार्सिलोना लिगको पहिलो स्थानमा छ । 

बुधवार राति नै भएको  खेलमा भिल्लारियलले एथ्लेटिको बिल्बाओलाई ३-० गोलले हराउन सफल भयो । यता सेल्टा डि भिगो र भ्यालेन्सियाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?