काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदालक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गरेका छन् । नेपाल पर्यटन तथा होटल व्यस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो ।
स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दे मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए । पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागि गराइएको छ ।
यसबाट पर्यटन प्रवर्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाको जानकारी दिइनेछ । साथै, उनीहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइनेछ ।
हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेलहुँदै स्वयम्भू पुगिने पदमार्ग अन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए । यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । सम्पदा मार्गले आर्थिक गतिविधि चलायमान हुनुकासाथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतिले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरिएको बताए । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालनको बिषय समेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया