एजेन्सी : अमेरिका र चीनको व्यापार युद्धले विश्वव्यापारमा तनाव उत्पन्न भएको छ ।
विश्वव्यापारको गतिविधि प्रभावित यो व्यापार बृद्धि घटने देखिएको हो ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले अर्को वर्ष विश्वभरि हुने व्यापारको वृद्धिबारे आफैले गरेकोे प्रक्षेपणमा केही संशोधन गरेको छ ।
डब्ल्यूटीओका महानिर्देशकले महत्वपूर्ण व्यापार साझेदारहरूबीच बढ्दै गएको तनावले विश्वव्यापारमा कमी आउने पूर्वानुमान गरेका छन् ।
आगामी वर्ष विश्वभरि हुने व्यापारमा ३.७ प्रतिशतले वृद्धि हुने डब्ल्यूटीओले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसअघि डब्ल्यूटीओले अर्को वर्ष विश्वभरि हुने व्यापारमा चार प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो ।
डब्ल्यूटीओका अर्थशास्त्रीहरूले गरेको पूर्वानुमान अनुसार आगामी वर्ष वस्तुको बृद्धि हुने भएपनि त्यो यसअघि अपेक्षा गरिएको भन्दा कम हुनेछ ।
यसो हुनुमा हाल विश्वबजारका ठूला अर्थतन्त्रहरूबीच भइरहेको व्यापार तनाव मुख्य कारण रहेको जनाइएको छ ।
डब्ल्यूटीओले आफ्नो वक्तव्यमा कुनै देश विशेषको नाम किटान नगरेको भएपनि हाल अमेरिका र चीनबीच व्यापार युद्ध तीव्र भइरहेको छ ।
विश्वभरिबाट आयात गरिने स्टील र अलुमिनियममा नयाँ करहरू अमेरिकाले लगाएको छ ।
अमेरिकाले चिनियाँ सामानहरूमा विशेष गरी ठूलो स्तरमा नयाँ करहरू लगाएको हो ।
त्यसको जवाफमा विश्वका अन्य देशहरूले पनि अमेरिकी वस्तुमा नयाँ कर थपि दिएर जस्ताको त्यस्तै व्यवहार प्रदर्शन गरेका हुन् ।
डब्ल्यूटीओले जनाएअनुसार अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर मध्यमस्तरको रहनेछ । यसकोे अनिश्चितताले लगानीमा असर पर्न सक्ने उसको अनुमान छ ।
डब्ल्यूटीओका महानिर्देशक रोबेर्टू एजेभेडूले मतभेद हुँदाहुँदै पनि विश्वका सरकारहरूले मिलेर काम गर्नु र संयम देखाउनु अहिलेको आवश्यकता भएको बताए ।
हालै अमेरिकाले थप २०० अर्ब डलर मूल्य बराबरको चिनियाँ उत्पादनमाथिको कर थपी त्यसको कार्यान्वयनमा अगाडि बढेको छ ।
त्यसको जवाफमा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाएको छ ।
अमेरिकाले लगाएको नयाँ करबाट २५० अर्ब डलर बराबरसम्मको चिनियाँ निर्यात प्रभावित हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया