काठमाडौं । खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजना गर्नका लागि आज (मंगलबार) सम्झौता गरेको छ । राजधानीमा मंगलबार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केटबलबीच सम्झौता भएको हो ।
सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाली बास्केट बलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोषाक प्रयोग गर्नुपर्नेछ ।
नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक आधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुशी लागेको बताएकी छन् । सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताए ।
लिनिङले प्रायोजनबापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया