काठमाडौं । आज शुक्रवारदेखि तीन नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । संगीता श्रेष्ठ निर्देशित फिल्म कथा काठमाडौं, यश कुमार निर्देशित छिरिङ र सत्यराज चौलागाईं निर्देशित फिल्म अनुराग आजैबाट प्रदर्शनमा आउन लागेका हुन् ।
यस्तै गत साता रिलिज भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि सिनेमा घरमा चलिरहेको छ । आज रिलिज भएका तीनै चलचित्रले औसत दर्शक तान्ने देखिएको छ । चर्चाको हिसाबले ‘कथा काठमाडौं’ र ‘अनुराग’ केही चर्चामा रहे पनि पछिल्ला दिन छिरिङले पनि एउटा माहोल निर्माण गरेको थियो ।
विधागत हिसाबले भने तीनै फिल्मले फरक–फरक फिल्म भनिएको छ ।
चलचित्र ‘कथा काठमाडौं’ ले काठमाडौंमा बस्ने विभिन्न पात्रका कथालाई आफ्नो फिल्ममा समावेश गरेको छ । निर्माण टिमका अनुसार फिल्मले महिला हिंसाको विषयलाई उठाएको छ । यो फिल्ममा आयुष्मान जोशी, प्रियंका कार्की, संजोग कोइराला, प्रेक्षा अधिकारी, सन्ध्या केसी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा तीन फरक फरक कथालाई एउटै कथा बनाएर प्रस्तुत गरिएको छ ।
यस्तै चलचित्र ‘छिरिङ’ मुस्ताङमा खिचिएको हो । फिल्मले गाउँमा हुने एउटा प्रथाको विरोध गर्छ । चलचित्रमा यशकुमार, निमा रुम्बा, कामना भुजेल लगायतका कलाकारको अभिनय छ । प्रिमियरमा फिल्मले औसत प्रतिक्रिया पाएको थियो ।
आजै रिलिज हुने चलचित्र ‘अनुराग’ मा ऋषि धमला प्रस्तुतकर्ताका रुपमा देखिएका छन् । उनले आफ्नै पत्नी एलिजा गौतमलाई फिल्ममा डेब्यु गराएका छन् । यो फिल्ममा समुद्र पण्डित र एलिजाको जोडी छ । फिल्मलाई म्युजिकल लभस्टोरी फिल्म भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया