बिहान १० बजे ।
ब्याकग्राउन्डमा सुमधुर आवाजमा बजिरहेको छ : उदय सोताङ र मनिला सोताङको ‘उकाली चढौंला, ओह्राली झरौँला’ । यसैसँग मिसिएको हावा हामीतिरै बहदै छ सुकमेल र क्यारामेलको फिफ्टी–फिफ्टी सुगन्ध लिएर । त्यही सुगन्धित वातावरणमा ‘सुरुप्प सुरुप्प’ चियाको चुस्की लिइरहेका १८–२० वर्षका केटाकेटीदेखि अँधबैसेहरुको झुण्ड । गफिरहेका ।
छेउमै भित्ताभरि सजाइएका रङ्गीचङ्गी माटोका भाँडाहरु (मट्काहरु ) । त्यसको ठ्याक्कै अगाडि चिया खाँदै पढ्नलाई स्ट्यान्डमा राखिएका केही थान पुस्तक । कुनातिर किचेन । किचेनमा चिया छान्दै मुस्कुराइरहेका आकाश कुश्वा । हामी पुग्दा भीमसेनगोला पुरानो बानेश्वरस्थित चिया घरको माहोल यस्तै देखियो । शान्त, सुगन्धित र संगीतमय । चिया घर लेखिएको प्रवेशद्वारबाट भित्र छिरेपछि माहोल नै फेरिए जस्तो लाग्ने । सानै आयाममा फैलिएको भएपनि एकान्त र शान्त वातावरण भएकाले युवादेखि पाका सबैको भेला भएर गफिने चौतारो बनेको छ चिया घर ।
संसारमै सबैभन्दा बढी पिइने पेय पद्धार्थ चिया । त्यसमा पनि नेपालीहरुका लागि चिया एक पेय पद्धार्थ मात्र नभएर आत्मीयताको प्रतीक हो । अतिथिको स्वागतदेखि थकानबाट राहत दिलाउनेसम्मको जिम्मा चियालाई दिएको छ नेपाली समाजले । त्यसैले नेपाली समाजबाट चिया ‘आउटडेट’ हुन गाह्रै छ ।
संसारमै सबैभन्दा बढी पिइने पेय पद्धार्थ चिया । त्यसमा पनि नेपालीहरुका लागि चिया एक पेय पद्धार्थ मात्र नभएर आत्मीयताको प्रतीक हो । अतिथिको स्वागतदेखि थकानबाट राहत दिलाउनेसम्मको जिम्मा चियालाई दिएको छ नेपाली समाजले । त्यसैले नेपाली समाजबाट चिया ‘आउटडेट’ हुन गाह्रै छ । जसको परिणाम स्वरुप बजारमा चियाको व्यापार क्रमश फस्टाउँदै गएको देख्न सकिन्छ । चिया घर पनि यसैको ज्वलन्त उदाहरण हो ।
चियाको परम्परागत स्वादलाई परिमार्जित गरेर नयाँ स्वादमा, नयाँ शैलीमा, नयाँ माहोलमा पस्किन सकिन्छ भन्ने केही युवाहरुको ‘आइडिया’बाट जन्मिएको यस ठाउँमा मट्का चिया, हनी जिन्जर, मसाला मिल्क, क्यारामेल टि, हर्बल टि जस्ता विभिन्न फ्लेभरका चिया लगायत हट चक्लेट, क्यापचिनो, मिल्क शेक आदिजस्ता ड्रिंक्स आइटमहरु पनि उपलब्ध छन् । चियालाई विभिन्न फ्लेभरमा ढालेर ग्राहकलाई छुट्टै टेस्ट दिन सफल छ चिया घर । यद्यपी यहाँको मट्का चिया एकदमै लोकप्रिय छ । ‘सबैभन्दा धेरै बिक्ने पनि यही हो ।’ किचेनमा चिया छान्दै गरेका आकाश कुश्वाले लोकपथलाई बताए ।
मादक पद्धार्थहरु राख्दा झगडा हुने, लफडा हुने सम्भावना भएकाले त्यस्तो समस्यामा पर्नुभन्दा सबैले आनन्द महसुस गर्ने सुरक्षित वातावरणमै व्यवसाय गर्ने उद्देश्यले चिया घरको स्थापना भएको हो । ‘अहिले सबैजना यहाँ रिल्याक्स गर्न आउनुहुन्छ । पढाइबाट । कामबाट । डाइरेक्ट यहीँ ।’ उनले थपे ।
चियाको स्वाद मात्र नभएर त्यसलाई पस्किने शैली पनि भिन्न छ यहाँ । शिशा वा स्टीलको कपमा नभएर यहाँ माटोका ससाना कपमा चिया दिइन्छ । ती ससाना कपमा अँटाएको केही घुट्की मसाला चियाले जिब्रोलाई क्रिमी फ्लेभरको अनुभव दिलाउँछ । माटोका कपहरु ‘डिस्पोजेबल’ भएकाले यसलाई व्यवस्थापन गर्ने पनि छुट्टै ‘कन्सेप्ट’ ल्याएको छ चिया घरले । आफूले चिया खाएको कपमा आफ्नो र साथीहरुको नाम वा सम्झनाको लागि विभिन्न कुराहरु लेखेर सजाएर राख्न पाउने व्यवस्था गरिएको छ । मूल ढोकाबाट छिर्नासाथ रङ्गीविरङ्गी चित्र र अक्षरहरुले ढाकेका मट्काहरु लहरै सजाइएको देख्न सकिन्छ । ‘फ्रेन्ड्स फरेभर’ देखि पानको पातमा प्रेमीप्रेमिकाको नामसम्म ढकमक्क मुस्कुराइरहे जस्तो लाग्ने ।
स्थापना भएको करिब १ वर्षमा नै यस ठाउँले निकै लोकप्रियता हाँसिल गरिसकेको छ । दिनमा कम्तीमा ५०–६० प्याकेट दुधको चिया बिक्छ । कहिलेकाहीँ ८० प्याकेट सम्म पुग्ने कुश्वा बताउँछन् । बिहान घाम झुल्केसँगै चहलपहल शुरु हुने यहाँ राति ९, ९ः३० बजेसम्म पनि ग्राहकहरु आइरहन्छन् । शनिवार पनि बन्द नहुने भएकाले यहाँ हप्तैभरि उत्तिकै चहलपहल हुन्छ । ठाउँ अझै पूरै बनिसकेको छैन । बन्दैछ । रंगरोगनदेखि सजावटका कामहरु चलिरहेका छन् । ग्राहकहरुलाई विशुद्ध नेपाली परम्परा र संस्कृतिको अनुभुत गराउने हिसाबले त्यही अनुसारको सजावट गरिँदैछ । भित्तामा पनि सांस्कृतिक महत्त्वका चित्रकलाहरु कोरिएको छ । यसरी नै व्यवसाय फस्टाउँदै गएमा चियाघरले यसको शाखा पनि खोल्ने योजना बनाएको छ ।
यहाँका ‘ओनर’देखि कामदार सबै युवा नै छन् । हरेक दिन रोजगारको खोजीमा विदेश पलायन भइरहेका नेपाली युवाहरुका लागि उनीहरु सशक्त उदाहरण हुन् । हरेक कामलाई सिर्जनात्मक ढङ्गले गर्न जान्ने हो भने हावाको हरेक झोँकामा पनि सम्भावना र अवसरहरु घुलित छन् भन्नु गलत नहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया