खोटाङ । नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगीता एबं चौथो जिल्लास्तरीय कराते प्रतियोगीता सुरु भएको हो ।
जिल्ला खेलकुद बिकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगीता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन् ।
प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगीता आयोजना गरेको हो । प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनौट हुने छन् ।
एकैदिनमा प्रतियोगीता नसकिएका कारण छनौट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्ने छ ।
जिल्लास्तरिय छनौट प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्र्तगत खोटाङबाट १४ विद्याका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन् । त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनौट भइसकेको छ ।
बिहीबार र शुक्रबार सञ्चालन हुने छनौट प्रतियोगीताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनौट हुने खेलकुद विकास समितिले जनाएको छ ।
यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया