‘एभीएल’ महिला भलिबल :चितवन टाईगसले त्रिभुवन आर्मी क्लबसँग भिड्ने

काठमाडौं । आदिअवादी महिला भलिबल ‘एभीएल’ भोली शनिवारदेखि शुरु हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाईगसले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । यी दुई क्लबबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा हुनेछ । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म सञ्चालन हुन लागेको हो । 

प्रतियोगिताको खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको प्राविधिक पक्षको जानकारी गराउने उद्देश्यले शनिवार टेक्निकल सेमिनार सञ्चालन गरिएको छ । 

अन्तर्राष्ट्रिय रेफ्रि गौतम लासिवा, अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेड चन्द्रबदना राई, एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड पूर्ण चौलागाई, विजय केसी र विकास गुरुङले प्राविधिक पक्षका बारेमा सहभागि टिमका कोच तथा कप्तानलाई जानकारी गराएका हुन् । 

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्यु डायमण्ड,चितवन टाईगर्स र आर्मी एक समूहमा छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै दोश्रो स्थान हाँसिल गर्नेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार हात पार्नेछन् ।

त्यस्तै टिम तयारीका लागि एपीएफ, पुलिस,आर्मी र न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ तयारी खर्च प्राप्त गर्नेछन् ।

टेक्निकल सेमिनारमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र वहादुर चन्द, आदीअवादी फाउन्डेसनका कार्यकारी प्रमुख दिनेश सिंह, फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङलगायतको उपस्थिति रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?