काठमाडौं । वैदेशिक रोजगारका लागि युरोपेली मुलुक क्रोएसिया पठाईदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
वर्किङ भिषामा क्रोएसिया जान सात लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाखसम्मको तलब सुविधा हुने भन्दै ठगी गर्ने धनकुटाको परिवर्तित चौबिसे गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको भिमसेनखोला बस्ने शान्त कुमार देवानलाई प्रहरीले पक्रेको हो ।
देवानलाई गोकुल भण्डारीसँग दुई लाख रकम ठगी गरेको अभियोगमा समातिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले बताए ।
रेग्मीले दिएको जानकारी अनुसार ३८ वर्षीय देवानले क्रोएसियाको प्रतिष्ठित अटोमोबाईल कम्पनीमा काम लगाईदिने प्रलोधनमा पारेर ठगी गरेका थिए । ठगी कार्यमा संलग्न रहेको भन्दै वैदेशिक रोजगार विभागबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा देवानलाई पक्राउ गर्ने आदेश दिईएको थियो । सोही आदेश अनुसार उनलाई हिजो साँझ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीबाट समातिएको रेग्मीको भनाई छ ।
हाल उनिमाथि थप अनुसन्धान गर्न तथा कारबाही प्रकृया अगाडी बढाउन वैदेशिक रोजगार विभागमा पठाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया