नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने प्रकृया सुरु

लोकपथ
84
Shares

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीहरु खोल्नको लागि प्रस्ताव माग गरेको छ । पछिल्लो समय बीमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै चुक्ता पुँजी वृद्धि सम्वन्धी नीतिलाई कार्यान्वयनमा ल्याएर मर्जररलाई दबाव दिईरहेको समितिले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दे नयाँ लघुबीमा कम्पनी खोल्नको लागि प्रस्ताव माग गरेको हो ।

समितिका अनुसार न्यून आय भएका तथा लक्षित बर्गका जनतामा बीमाको पहुँच पुर्‍याएर बीमाको विकास र बिस्तार गर्नको लागि चालू आर्थिक बर्षको बजेट अनुसार नै लघुबीमा कम्पनी स्थापना गर्नको लागि प्रस्ताव माग गरिएको हो । जस अनुसार सात वटा लघुविमा कम्पनीको लागि प्रस्ताव माग गरिएकोमा तीन वटा जीवन बीमा र चारवटा निर्जिवन बीमा कम्पनी रहेका छन् । समितिका अनुसार नयाँ बीमा कम्पनी खोल्नका लागि सूचना आजैबाट प्रकाशित भएको अर्थात यही भदौ १० गतेको मितीले ३५ दिन भित्र आवेदन दिनु पर्ने उल्लेख गरिएको छ । प्रस्तावित नयाँ बीमा कम्पनीहरुको चुक्ता पुँजी ७५ करोड रुपैयाँबाट नघट्ने हुनुपर्ने छ ।

प्रस्तावित बीमा कम्पनीहरुको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर पनि हुनुपर्ने छ । नयाँ बीमा कम्पनीहरु सञ्चालन गर्नको लागि प्रस्ताव पेस गर्ने व्यक्ति तथा संस्थाहरुको कुनै पनि किसिमको कालोसुचीमा नपरेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् । अहिले नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा, १९ वटा निर्जिवन बीमा र दुई वटा पुर्नबीमा कम्पनी सहितका ४० वटा कम्पनीहरुले बीमा सम्वन्धी कारोबार सञ्चालन गर्दे आएका छन् । समितिले सात वटा लघुबिमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुमती दिएपश्चात कुल बीमा कम्पनीहरुको संख्या ४७ वटा हुने छ ।

जसमध्ये जीवन बीमा कम्पनीहरुको संख्या २२ वटा र निर्जिवन बीमा कम्पनीहरुको संख्या २३ वटा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?