हास्यकलाकारको फिल्म मोह, टेलिफिल्मजस्ता फिल्मको लर्को

काठमाडौं । केही दिन पहिले सामाजिक सञ्जाल फेसबूकको सेक्रेट ग्रुपमा एक युवकले चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ का दुई पोस्टरलाई जोडेर क्याप्सनमा लेखेका थिए – ‘साथीहरु तपाईं टेलिफिल्म हेर्ने कि फिल्म हेर्ने, आफै रोज्नुस् ।’

कमेन्टमा ग्रुपका सदस्यबीच रमाइलो चलिरहेको थियो । केहीले ती युवकले लेखेको कुरामा असहमति जनाउँदै ‘आफूले पनि गर्न नसक्ने, अरुले गरेकोमा पनि उछितो काढ्ने’ भन्दै प्रतिक्रिया दिएका थिए त कतिपयले युवकको कुरासँग सहमत जनाएका थिए ।

यो एउटा उदाहरण मात्र हो । यस्ता पोस्ट सामाजिक सञ्जालमा दैनिकजसो भेटिन्छन् । 

अर्थात्, दर्शक आफै भन्ने गर्छन् – ‘नेपाली फिल्म टेलिफिल्मजस्ता बने ।’

तर, दर्शकको यो प्रतिक्रिया स्वीकार्न फिल्ममेकरलाई भने नीमको पात जपाएझैँ तीतो हुन्छ । खासगरी यस्तै फिल्म बनाउने मेकरले त जसरी भए पनि आफ्नो कुरा सही हो भन्ने पार्न चाहन्छन् । मेकरको यो निरन्तरता जारी छ ।

अर्को एउटा उदाहरण – केही महिनाअघि कलाकार किशोर भण्डारीले निर्देशन गरेको फिल्म ‘चंगा’ हेरिसकेपछि एक पत्रकारले बाहिर आएर मुख बङ्ग्याउँदै सुनाएका थिए, ‘हलमा चल्दैमा सबै फिल्म, फिल्म नहुने रैछन् ।’

उनको व्यङ्ग्यपूर्ण अभिव्यक्ति के थियो भने, ‘चंगा’ नामक फिल्म टेलिभिजनमा आउने टेलिफिल्मकै झल्को दिने खालको थियो । गाउँमा यता र उता गरिरहेका पात्रलाई गाउँमै सकेर तयार पारिएको टेलिफिल्मजस्तो बनेपछि फिल्म फ्लप भयो । फिल्ममा टेलिफिल्मका कलाकार मात्र नभएर थिएटरका कलाकार पनि थिए तर ती कलाकारले कुनै कमाल गर्न सकेनन् ।

यी उदाहरणलाई दर्शकले ख्याल गरेर प्रतिक्रिया दिए भने फिल्ममेकरले सिनेमा क्षेत्रका अनेक समस्या देखाएर तरक्क तर्किन्छन् । वास्तविक समस्या के हो, फिल्म किन चलेन भन्ने कुरालाई खासै चासो दिँदैनन् फिल्मकर्मीले । जसकारण अर्को फिल्ममा पनि उही गल्ती दोहोरिन्छ । दर्शक त्यति उल्लु पनि छैनन्, उही गल्ती हेर्न बारम्बार हलसम्म किन जान्छन्?

युट्युबमा नेपाली फिल्म हेरिने तर हलमा नहेरिने एउटा कारण यो पनि हो । दर्शकलाई पहिल्यै थाहा हुन्छ, नेपाली फिल्म कामचलाउ हुन्छन् । कमसेकम युट्युबमा फरवार्ड गर्दै फिल्म हेर्न पाइन्छ । त्यो पनि विना पैसा ।

यो सत्य हो, फिल्मकर्मीले आफ्नो ‘खुबी’ कति छ भन्ने कुरालाई भन्दा अरुलाई दोष लगाउनमै रमाइरहेका हुन्छन् ।

पछिल्लो बजारलाई हेर्ने हो भने धेरै फिल्मले लगानी सीधै डुबाएका छन् । एकाध फिल्मले अपत्यारिलो तरिकाले कमाइ गरेर उदाहरण बनेका छन् । कमाउनेमा तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै लगायतका टेलिफिल्मका कलाकारले डेब्यु गरेका फिल्म पर्छन् ।

अहिलेलाई यी कलाकार अभिनित फिल्मको बजार लगभग सुरक्षित छ भन्न सकिने अवस्था छ ।

एक फिल्मकर्मी भन्छन्, ‘दर्शकले लामो समयदेखि मह सञ्चारका टेलिफिल्म र तीतो सत्य जस्ता श्रंखला हेरे, त्यतिबेला विकल्पमा अरु थिएन, पछि दर्शकलाई ती पात्रको छाप बस्यो ।’
उनका अनुसार फिल्मका तिनै क्यारेक्टरका कारण अहिले फिल्म हिट छन् । जस्तो कि, ‘रामकहानी’ मा केदार घिमिरे माग्ने बूढाकै हाउभाउमा देखिएका छन् । यदि कुनै दर्शक उक्त फिल्म केदार घिमिरेका कारण हेर्न पुगेका भए टेलिफिल्मको सोही पात्रका कारण गएका छन् ।

यस्ता पात्र धेरै छन् । जो टेलिभिजनकै भूमिकामा देखिन्छन् । फिल्ममा फरकपन दिन सक्दैनन् । दीपक–दीपाको टिमले भने बजार बुझेर कम्तिमा फिल्मजस्तो बनाउने प्रयास गर्छ । र पनि, दर्शकले ती फिल्मलाई ‘टेलिफिल्म’ सँग तुलना गरिरहेका हुन्छन् भने कति फिल्मलाई त दर्शकले नोटिस पनि गर्दैनन् । अब निर्माताले बुझ्नैपर्ने कुरा के हो भने दर्शक सिनेमा हेर्न जान्छन्, टेलिफिल्मका पात्रलाई होइन । दर्शकलाई नयाँ फिल्ममा नयाँपन दिन सकिएन भने टेलिफिल्म त बरु चलेकै छन् तर फिल्म चाहिँ चल्दैनन् भन्ने त सिनेमा बजारले पुष्टि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?