नेपालमा आयोजना हुने खेलकुद प्रतियोगितामा धेरै जसो खेल गतिविधिका समाचारहरुमा वारम्बार फुटबल, भलिवल, क्रिकेट, मार्शल आर्टकै खेलहरुको हुने गर्छ । एकाधरुपमा कहिले काँही भने एथलेटिक्स, टेनिस, पौडी, बुद्धिचाल लगायतका खेलको आउने गर्छ ।
यसरी सिमित खेलको मात्र गतिविधिको समाचारहरु आउदाँ धेरै खेल प्रेमीहरुलाई नेपालमा यती मात्रै खेल खेलिन्छ कि भन्ने भान हुने गर्छ । तर त्यसो होईन, नेपाली खेलकुदको मुख्य निकायको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद(राखेप) मा नेपाली खेलकुदको गरिमा र इज्जत बढाउन भनेर २ सय ९ खेलहरुको संघ दर्ता भएका छन् । यसरी दर्ता भएर पनि नेपाल भित्रै खेल गतिविधि संचालन गर्न नसकेका २५ खेलका संघहरुलाई राखेपले खारेज गरिसकेको छ ।
राखेपमा दर्ता भएका धेरै संघहरुको न त संगठन बनेका छन् भने कतिपय खेलका त खेलाडी नै छैनन् भन्ने अवस्थामै छन् । खेलको संघ बढ्नु तर तिनीहरुको खेल गतिविधि र खेलाडीहरु नै देखा नपर्नु नेपाली खेलकुदको क्षेत्रमा देखिएको विकराल समस्याको रुपमा देखिएको छ ।
यसरी उम्रिए खेलकुद संघहरू :
नेपालमा खेलकुदको विकास गर्ने अवधारणाका साथ बि.स. २००४ मा पहिलो पटक नेपाल एमेच्योर एथलटिक्स संघ र नेपाल क्रिकेट संघ गठन भएका थिए । एथलटिक्स र क्रिकेट संघ गठन भएको ३ वर्षपछि नेपाल ब्याडमिन्टन संघ गठन भयो । त्यस्तै २००८ सालमा अखिल नेपाल फुटबल संघ र अखिल नेपाल टेबलटेनिस संघ गठन भयो । त्यसपछि ०१३ सालमा अखिल नेपाल लङ टेनिस संघ गठन भयो । तर ०१३ देखी २०३३ सम्म भने खेल राखेपमा कुनै पनि खेलकुदको संघ दर्ता हुन सकेन । दुई दशकसम्म कुनै पनि संघ गठन नभएको नेपालमा २०३३ सालमा आएर नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ र नेपाल कबड्डी संघ दर्ता भएको थियो । २०४६ सालमा प्रजातन्त्रको पूर्नउदय भएपछि खेलकुद संघहरूको दर्ता गर्ने लहर तिब्र रुपमा बढ्न थाल्यो जून क्रम अझैंसम्म पनि जारी रहेको छ ।
एकातिर खेलकुद संघहरूको दर्ता संख्या बढ्दै गइरहेको छ भने संघहरुले पनि सोचे अनुसारको प्रतियोगिता आयोजना गर्न सकेका छैनन् । धेरै खेलकुद संघहरुको अविभावकको रुपमा राखेप रहेपनि राखेपले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा त्यस्ता खेलहरुलाई समावेश नगर्दा ति खेलका गतिविधिहरु शुन्य अवस्थामा पुगेको देखिन्छ । आगामी महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेपले ३६ वटा खेलहरुलाई मात्र समावेश गरेर अन्य खेलहरुलाई सौतेनी ब्यवहार गरेको प्रष्ट देखिन्छ ।
नवौं राष्ट्रिय प्रतियोगितामा समावेश भएको एथलेटिक्स खेलका खेलाडीहरुको प्रशिक्षण तिब्र रुपमा भइरहेको छ । आफ्ना खेलाडीहरुलाई क्याम्पमा राखी प्रशिक्षण भइरहेको नेपाल एथलेटिक्स संघका महासचिब राधाकृष्ण विष्टले लोकपथलाई जानकारी दिए । राखेपको माया पाएकै कारण अहिले एथलेटिक्सको झैं फेन्सीङ, सेपाक्टाक्रो, रग्बी ७ ए साइट जस्ता कमै सुनिने र नेपालमा कमै प्रतियोगिता हुने खेलहरुले उपस्थिती जनाउन पाएका छैनन् ।
राखेपमै दर्ता भएको नेपाल परेवा उडान खेलकुद संघले हालसम्म २० वटा प्रतियोगिता सम्पन्न गरिसकेको भएपनि हालसम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्न र सहभागि हुन सकेको छैन । ‘हामीले हालसम्म २० वटा प्रतियोगिता सम्पन्न गरिसकेका छौंँ । कोरोना महामारीले गर्दा खेल केही समय रोकिए पनि अब २१ औं संस्करणको तयारीमा जुटेका छौँ ।’ नेपाल परेवा उडान खेलकुद संघका महासचिब दिपङ्कर प्रसाद प्रधानले जानकारी दिए ।
आफैले स्पोन्सर खोजेर कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । राखेपबाट सहयोग नभएको त होइन तर पर्याप्त सहयोग हुने गरेको छैन, उनले थपे ।
यस्तै कर्लिङ्ग एक इनडोर खेल हो । तर यसको कोर्ट बनाउन निकै महङ्गो खर्च लाग्ने गर्दछ । पछिल्लो समय कर्लिङ्ग खेलले अन्तराष्ट्रिय क्षेत्रमा निकै लोकप्रियता पाइरहेको छ । नेपालमा पनि नेपाल कर्लिङ्ग संघ दर्ता भएको छ ।
दर्ता भएपनि कर्लिङ्ग संघले हालसम्म कुनै प्रतियोगिता आयोजना गर्न सकेको छैन् । कोर्ट बनाउनका लागि संघले नागर्जुन नगरपालिकासँग प्रस्ताव अगाडी बढाएको संघका अध्यक्ष लाल कुमार लामा बताउछन् । राखेपका सदस्य सचिबहरुसँग धेरै पटक कुराकानी गरेर कोर्ट बनाउन आवश्यक प्रकिया अगाडी बढाउन आग्रह गरे, तर कसैले सुन्नु भएन । व्यक्तिगत लगानी गरेर बनाउन सम्भव छैन । राखेपले आजसम्म एक रुपैयाँपनि सहयोग गरेको छैन, उनले भने ।
जथाभावी खेलकुद संघहरु दर्ता हुनु खेलकुद क्षेत्रकै विडम्बना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ बताउछन् ।
नेपालमा हाल दर्ता भएका संघहरु मध्ये आधा भन्दा बढी निस्कृय रहेको उनको भनाइ छ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुँदा हाम्रो अस्तित्व खै भनेर उफ्रने संघहरुले सरकार र राखेपको मुख ताक्ने भन्दा अरु केही नगरेको उनी बताउछन् ।
आफ्नो कार्यालय र औपचारिक खेलाडीसम्म नभएका संघहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने होडबाजीका साथ अस्तित्व खोज्दै आउने गरेको उनले बताए ।
धेरै संघहरु छन् जो राखेपबाट अनुदानसम्म नपाउँदापनि विभिन्न निकायहरुसँगको सहयोगमा साँच्चै राम्रो र प्रसंसनिय कामहरु गरिरहेका छन्, श्रेष्ठ भन्छन् । नयाँ बनेको खेलकुद ऐनले यो समस्या हट्छ भन्नेमा आफूहरु विश्वस्त रहेको उनी बताउछन् । अनुगमन र नियमन गर्ने निकायहरुले यस्ता विकृतिहरुमा ध्यान पुयाउन पनि निकै जरुरी देखिन्छ, उनले थपे ।
म्यानपावर शैलीमा संघ :
पछिल्लो समय संघहरु म्यानपावर भन्दा कम छैनन् । नक्कली खेलाडी बनाएर विदेश लगिदिने र पैसा असुल्ने धेरै संघहरुको नियती नै बन्न थालेको छ, श्रेष्ठले भने । संघमा आवद्ध भएर विदेशिनेहरुको लर्को लाग्ने गरेको छ । अन्य देशहरुमा हुने विभिन्न प्रतियोगितामा सहभागी हुने र त्यतै बस्ने प्रचलन बढ्दो छ । विभिन्न संघको खेलाडी वा पदाधिकारी बनेर विदेश जाने यो प्रचलनले वास्तविक खेलाडीहरु जो महिनौदेखि अभ्यासमा रहेका हुन्छन् उनीहरु मर्कामा पर्ने गरेका छन् ।
सम्बन्धित निकायले पनि यस विषयमा चासो नदेखाएको देखिन्छ । संघहरु जोसँग खेलाडी नै छैनन् वा वर्षैदेखि संघका नाममा मानिसहरुलाई खेलाडी बनाउदै विदेश पठाइरहदा कुनै ठोस कदम चालिएको छैन ।
विभिन्न पार्टीका नाममा खोलिने संघहरुको पनि आफ्नै कथा छ । पार्टीको कार्यकर्ताहरुलाई जिम्मेवारीको टाँसो लगाउनुपर्ने बाध्यताका कारण पनि प्राय राजनीतिक पार्टीहरुको खेलकुद संगठनहरु मैलाएका छन् ।
एउटै खेलका फरक फरक संघ :
पछिल्ला परिदृश्यहरुलाई हेर्दा नेपालमा संघ दर्ता गर्ने अनौठो परम्परा नै बनिसकेको छ । उद्देश्य बिनै व्यक्तिगत स्वार्थका लागि संघहरु दर्ता हुने परिपाटीले समाजलाई कता लैजाला, यसले नेपाली खेलकुदको क्षेत्रमा के कस्तो किसिमको पारिपाटी ल्याउला ? यो गम्भीर चुनौतीका रुपमा नेपाली खेलकुद अहिले उभिएको छ ।
नेपालमा हाल मार्सल आर्ट खेलका तिन वटा त महासंघ नै रहेका छन् । पहिलो फूल कन्ट्रयाक्ट कराँते महासंघ जुन कराँते संघहरुको छाता संगठनको रुपमा काम गरिरहेको छ । दोस्रो मार्सआर्ट गेम कमिटी र तेस्रो नेपाल कराँते महासंघ । नेपाल कराँते महासंघले साफदेखि ओलम्पिकसम्म समावेश हुने खेलहरुको नेतृत्वदायी भुमिका निभाउने गर्छ ।
मर्सलआर्ट अन्तर्गतको कराँतेको मात्रै २ दर्जन भन्दा बढी संघ दर्ता भएका छन् । जसमध्ये केहीमात्र सक्रिय भएर काम गरिरहेका छन् । यसरी विकाश भइरहेको यो प्रवृतिले वास्तविक खेलाडीहरुलाई मर्कामा परिरहेका छन् ।
त्यस्तै तेक्वान्दो खेलको पनि हालत उस्तै छ । धेरै तेक्वान्दो संघहरु दर्ता भएका छन् । यसरी च्याउझै उम्रिरहेका संघहरु महासंघको मातहतमा दर्ता हुनुपर्ने भएपनि उनीहरु सिधै राखेपबाट दर्ता हुने गरेका छन् ।
संघले दिलाएको सफलता :
संघका खेलाडीहरुले नेपाललाई सफलता नदिलाएका भने होइनन् । खेलप्रति समर्पित खेलाडीहरुले देशलाई विभिन्न उपाधिहरु पनि दिलाएका छन् ।
एथलेटिक्स खेलाडी जित बहादुर केसीले नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका थिए । त्यस्तै, १९६४ मा टोकियोमा भएको ओलम्पिकमा नेपालबाट बक्सिङ र एथलेटिक्स खेलका खेलाडीहरुले सहभागीता जनाएका थिए ।
यता साफमा बैकुण्ठ मानन्धरले नेपाललाई ३ पटक लगातार म्याराथन खेलमा स्वर्ण पदक दिलाउदै रेकर्ड बनाएका थिए । जुन अहिलेसम्म पनि कसैले ब्रेक गर्न सकेका छैनन् ।
राखेपका सदस्य सचिब कति जिम्मेवार ?
राखेपका सदस्य सचिब टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्वी संघ दर्ता भएको छ । विडम्बनाको कुरा के छ भने सदस्य सचिब घिसिङ जो नेपालमा खेलकुद ऐनको निमार्ण र कार्यान्वयन गराउने तहमा छन् उनी नै अध्यक्ष भएको रग्वी संघको अवस्था हेर्ने हो भने दयनीय छ ।
त्यसो त नयाँ बनेको खेलकुद ऐनका अनुसार त परिषदको कुनै पदमा बसेको पदाधिकारीहरु कुनै पनि संघमा आवद्ध हुन नपाउने व्यवस्था छ । तर घिसिङ अझै पनि संघमा आवद्ध रहिरहेका छन् । ऐनका अनुसार संघमा संलग्नता परिषदका बहालवाला सदस्यसचिब, कर्मचारी तथा प्रशिक्षक खेलसंघको कुनैपदमा रहेको प्रमाणित भएमा त्यस्तो संघले वैधता प्राप्त गर्न सक्नै छैन र त्यस्ता सदस्य सचिव कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
राखेपको नयाँ एन अनुसार खेलकुद संघहरुले तीन तहको संरचना बनाउनु पर्ने हुन्छ । तर रग्वी संघको केन्द्रिय संघ बनेको छ भने प्रादेशीक र स्थानीय तहको संरचना अझै बन्न सकेको छैन । नवौं राष्ट्रिय खेलकुदको तयारीले गर्दा अहिले प्रादेशिक संगठन बनाउन नसकेको रग्वी संघको महासचिब चेतनराज गिरीले जानकारी दिए । तर घिसिङले आफ्नो रग्वी खेललाई नवौं राष्ट्रिय प्रतियोगितामा रग्वी ७ ए साइडको रुपमा समावेश गर्न सफल भए ।
के छ ऐनमा ?
खेलकुद ऐनको परिच्छेद ६ मा संघको गठन र दर्ता सम्बन्धमा उल्लेख गरिएको छ । जसअनुसार राष्ट्रिय, प्रदेश तथा स्थानीय स्तरका खेल संस्थाहरुले प्रचलित कानून बमोजिम संघ, प्रदेश र स्थानीय तहका खेल संघ स्थापना गर्न सक्नेछन् ।
खेल संघ स्थापना गर्दा पूरागर्नुपर्ने मापदण्ड
– एक खेलका लागि एउटा मात्र खेल संघ गठन भएको हुनुपर्ने ।
– खेल संघको विधानमा एउटै व्यक्ति एकै पटक एक भन्दा बढी खेल संघको पदाधिकारी हुन नसक्ने व्यवस्था हुनुपर्ने ।
– खेलसंघको विधानमा प्रत्येक चार वर्षमा लोकतान्न्त्रिक पद्धति अनुसार खेल संघका पदाधिकारी तथा सदस्यको निर्वाचन हुने र प्रत्येक वर्ष संघको आय व्ययको प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्नु पर्ने व्यवस्था हुनुपर्ने ।
ऐन नबन्दासम्म विभिन्न बाहाना बाजी गर्दै निर्वाचन टार्दै आएका संघहरुलाई ऐन बनेपछि आछुआछु भएको देख्न सकिन्छ । पुरानै संरचना अन्तर्गत निर्वाचन भएकाहरुलाई समेत परिषदले मान्यता दिएको छैन् । ऐन कार्यान्वयन तहमा गएर पनि नियमावली आइसकेको अवस्था भएकाले अब संघहरुको लापरवाही नचल्ने देखिन्छ ।
संघहरु आफ्ना धरातालमा बसेर काम गर्ने हो भने खेलकुदको विकाशलाई धेरै टेवा पुग्ने देखिन्छ । तर अस्तित्व नै नभएका संघहरु दर्ता मात्रै हुनु फलदायी देखिदैँन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया