काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’मा अपराजित यात्रालाई तेस्रो खेलसम्म कायम गरेको छ । साविकको विजेता मिलानले शनिबार बोलोग्नालाई २-० ले हरायो ।
युडिनेसीमाथि ४-२ को जितसहित सिजनको सुखद सुरूवात गरेको मिलान दोस्रो खेलमा भने एट्लान्टासँग १-१ को बराबरीमा रोकिएको थियो ।
२१औं मिनेटमा राफेल लियोको गोलमा मिलानले अग्रता लिएको थियो । ५८औं मिनेटमा ओलिभर जिरौउडले मिलानको अग्रता दोब्बर पारेका थिए ।
मिलान सबै खाले प्रतियोगिता गरि पछिल्लो १९ खेलमा अपराजित रहँदै आएको छ । मिलानको तीन खेलबाट सात अंक छ । मिलानले मंगलबार सासौलोको सामना गर्नेछ भने ३ सेप्टेम्बरमा इन्टरविरुद्ध खेल्नेछ ।
यता, युभेन्टस भने एएस रोमासँग १-१ को बराबरीमा रोकिएको छ । खेलको दोस्रो मिनेटमा डुसान भ्लाहोभिचको गोलमा युभेन्टसले अग्रता लिएको थियो ।
२५औं मिनेटमा लुकाटेल्लीले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता नदिँदा युभेन्टसले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । ६९औं मिनेटमा ट्यामी अब्राहिमले रोमालाई खेलमा फर्काएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया