‘एभीएल’ महिला भलिबल : चितवन टाइगर्स र नेपाल पुलिसको बिजयी शुरुवात (तस्वीर सहित)

काठमाडौं । आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा चितवन टाइगर्स र नेपाल पुलिसले बिजयी शुरुवात गरेका छन् । 

शनिवार भएको उद्घाटन खेलमा चितवन टाईगर्सले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पहिलो र तेश्रो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन ।

चितवन टाईगर्सले २५–२१,२५–१३ र २५–२२ को सेटमा जित निकाल्यो । चितवन टाईगर्सले पश्चिमाञ्चलकी मन्जु गुरुङको कप्तानीमा तीन अमेरिकन खेलाडी कोर्टमा उतारेको थियो । 

त्यस्तै पश्चिमाञ्चलकी अरुणा शाहीले सेटरको नया भूमिकामा चितवन टाईगर्सको सदस्य बनेकी छन् । नेपाल आर्मीमा भने न्यु डायमण्डबाट खेल्दै आएकी सेटर कृपा अधिकारी नयाँ खेलाडीको रुपमा कोर्टमा उतारे पनि अन्य खेलाडी पुरानै थिए ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको दोश्रो खेलमा पुलिसले पोखरा पिङकेजलाई २५–१३,२५–१४ र २५–११ को सोझो सेटमा हरायो ।

नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म संचालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले  उद्घाटन गरेका थिए ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्यु डायमण्ड,चितवन टाईगर्स र आर्मी समूह ‘ए’ छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज समूह ‘बी’मा रहेका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको ‘एभिएल’ बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले  ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्घाटनका अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, नेपाल सेट्लाईट टेलिफोनकी निर्देशक अस्मिता सुमार्गी आयोजक फाउन्डेसनका कार्यकारी प्रमुख दिनेश सिंह, फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?