शेयर नामसारीका लागि अब नेप्सेमा धाउनुनपर्ने, निक्षेप सदस्यले नै नामसारी गरिदिने

काठमाडाैं : पूँजीबजारका लगानीकर्ताहरूले अब शेयर नामसारीका लागि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) देखि सम्बन्धित कम्पनीसम्म धाउनु नपर्ने भएको छ। 

शेयर नामसारीको कामलार्इ सजिलो बनाउन सीडीएस एन्ड क्लियरिङ लिमिटेडले तयार गरेको ‘घरायसी तथा मृत्यु नामसारी कार्यविधि–२०७५’ लार्इ नेप्सेले पारित गरेको छ । यो कार्यविधीअनुसार अब शेयर नामसारी गर्न चाहनेले अाफ्नो विवरण बोकेर निक्षेप सदस्य (डीपी) कहाँ जाँदा एकमुष्ठ काम हुन्छ। 

नेप्सेले अाजै यो कार्यविधी स्वीकृत गरेको जानकारी सिडीएसीमा पठाउँदैछ। त्यसलगत्तै नयाँ कार्यविधीअनुसार शेयर नामसारीको काम शुरू हुनेछ । नयाँ कार्यविधीअनुसार अब शेयर नामसारी प्रकृया सरल, वैज्ञानिक र छिटोछरितो हुने नेप्सेले जानकारी दिएको छ । 

एक व्यक्तिको नाममा रहेको धितोपत्र (शेयर) लार्इ अर्को व्यक्तिको नाममा नामसारी गर्न यसअघिको प्रावधान निकै झन्झटिलो थियो । जसअनुसार शेयरधनीले शेयर नामसारी गर्न नेप्सेमा जानुपर्ने, त्यसपछि नेप्सेले शेयर रहेको सम्बन्धित कम्पनीमा पठाउने र निकै झन्झटिलो प्रकृया पुरा गर्नुपर्ने बाध्यता थियो । 

नयाँ कार्यविधीअनुसार अब शेयर नामसारी गर्न चाहने लगानीकर्ताले अाफ्नो निक्षेप सदस्यकहाँ जानुपर्नेछ । निक्षेप सदस्यले नै  लगानीकर्ताको अावश्यक कागजात सीडीएससीमा पठार्इदिने छ । सीडिएससीले नामसारी प्रकृयालार्इ प्रमाणित गरेपछि सो शेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा हुने व्यवस्था मिलार्इएको छ । 

शेयर नामसारी गर्दा लगानीकर्ताले १ लाख रूपैयाँसम्मको शेयमरमा न्यूनतम २५ रूपैयाँ, १ लाखदेखि ५ लाख रूपैयाँसम्मको शेयरका लागि ५०० रूपैयाँ र १० लाख रूपैयाँसम्मका लागि १ हजार रूपैयाँ तिर्नुपर्छ । १० लाख रूपैयाँमाथिको शेयर नामसारी गर्दा न्यूनतम १५ सय रूपैयाँ तिर्नुपर्नेछ । 

यस्तै, घरायसी नामसारी दस्तुर धितोपत्रको चुक्ता रकमको २% तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?