त्रिविको पत्रकार सम्मेलनमा हस्तक्षेप हुँदा झडप, विद्यार्थी र प्रहरी घाइते

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकारहरू सम्मेलनमार्फत उनले लामो समयदेखि तालाबन्दी भइरहेको र यसले समस्या पारेको बताएका थिए । नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्न खोज्ने नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने योगेन्द्र रावलको टोलीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गरेको थियो । त्यही क्रममा दुई पक्षबीच झडप भएको हो ।

प्रश्नपत्रमा भइरहेको निरन्तरको त्रुटी र त्रिवि पदाधिकारीहरुका मनोमानीकाविरुद्ध भएको आन्दोलनमा हस्तक्षेप भएपछि झडप हुन पुगेको नेपाल विद्यार्थी संघका नेता टेकराज अवस्थीले लोकपथलाई जानकारी दिए । झडपका क्रममा नेविसंघका विद्यार्थी भुवन जोशी, श्याम ओझा, किशोर भण्डारी लगायत दर्जन बढी नेता/कार्यकर्ता घाइते भएका छन् भने, केही प्रहरी समेत घाइते भएका थिए ।

‘हामीले त्रिविको लामो समयदेखिको लापरबाहीका विषयमा आवाज उठाउँदै आइरहेका थियौँ । तर, जायज मागहरु पूरा गर्नुको त्रिवि प्रशासनले थप गल्तीहरु गरेपनि त्यसको विरुद्ध आवाज उठाउँदा अनेरास्ववियुले आक्रमण गर्दा दुई पक्षबीच झडप भएको हो ।’ उनले भने । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायको परीक्षामा प्रश्नपत्र हुबहु भएसँगै नेविसंघले लामो समयदेखि आन्दोलनरत रहेको थियो ।

त्यसको साथै शनिबवार त्रिविका पदाधिकारीहरुको बैठक बसिरहेको अवस्थामा नेविसंघले फाइल खोसेर शिक्षामन्त्रीलाई बुझाएको थियो । नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । आफूहरूमाथि कुटपिट गर्न भाडाका गुण्डा ल्याएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?