नुवाकोटमा आगामी निर्वाचन : बदला लिने दाउमा कांग्रेस, जित जोगाउने कसरतमा एमाले !

प्रकाश पुडासैनी

किसानलाई खेतीपातीको चटारोले छोपेझैँ यतिबेला राजनीतिक वृत्तमा चुनावी चटारोले छपक्कै छोपेको छ । उसो त हिजोआज गाउँघरदेखि सहर बजारसम्म नेता कार्यकर्ताको चहलपहल सुरु भइसकेको छ ।

यही मेलोमा छ– नुवाकोट पनि । संघीय राजधानीसँग सिमाना जोडिनु र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अनुहार यही जिल्लामा हुनुले पनि नुवाकोटको चुनावले धेरैको ध्यान खिच्छ । उसो त सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु यतिबेला निर्वाचन केन्द्रीत गतिविधिमा संलग्न हुन थालेका छन् ।

आखिर के होला त नुवाकोटको निर्वाचन परिणाम ? त्यसका लागि त मंसिर ४ सम्म कुर्नैपर्छ । तैपनि, एकपटक ०७४ को आमनिर्वाचन र गत स्थानीय निर्वाचनको मत परिणामलाई हेरौं ।

यस्तो थियो ०७४

नुवकोटमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । यी क्षेत्रमा ०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए ।

०६४ को संविधान सभा निर्वाचनमा माओवादीको दबदबा रहेको अवस्थामा समेत जित निकालेको नुवाकोट कांग्रेसले ०७४ मा सबै निर्वाचन क्षेत्रबाट हात धुनुपर्यो । आखिर किन ? यसमा दुई कारण छन् । एकातिर बाम गठबन्धन र अर्कोतिर जिल्लामा फितलो चुनावी रणनीति ।

यी र यस्तै कारणले त्यतिबेला नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं १ मा तत्कालिन बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४ सय ७३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. रामशरण महतले २७ हजार ९ सय २० मतमै सिमित भएका थिए ।

यता क्षेत्र नं २ मा तत्कालिन बाम गठबनधनका उम्मेदवार नारायणप्रसाद खतिवडाले ३६ हजार ८ सय ९२ मतसहित जित हासिल हुँदा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका थिए ।

यद्यपि, ०७४ मा भन्दा ०७९ को निर्वाचनको रणनीति फरक ढंगले अघि बढेको देखिन्छ । त्यतिबेला बाम गठबन्धनका साझेदार (एमाले–माओवादी) आ–आफ्नो हाल एकैठाउँमा छैनन् । त्यस्तै, पार्टीभित्रको आन्तरिक कलहका कारण एमाले दुई चिरा भएको छ । र, कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने उद्घोष गरिसकेका छन् । उसो त गठबन्धनकै बलमा नुवाकोट कांग्रेस ०७४ को बदला ०७९ मा लिने दाउमा छ ।

स्थानीय निर्वाचनलाई फर्केर हेर्दा 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नुवाकोटका अधिकांश पालिकामा सत्तारुढ गठबन्धन तालमेल गरेको थियो । तालमेल गरेका पालिकामा कांग्रेसले जित निकाले पनि केही स्थानमा नेता तथा कार्यकर्तालाई समायोजन गर्न नसक्दा कांग्रेसले हार व्यहोर्यो । जसकारण जिल्ला समन्वय समितिमा समेत कांग्रेसले आफ्नो स्थान सुरक्षित गर्न सकेन । जबकि, ०७४ को स्थानीय निर्वाचनमा समन्वय समितिको प्रमुख, उपप्रमुख दुवै जितेको थियो । तर, दुवै क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस नै अघि छ ।

कसको कति मत ?

प्रतिनिधि सभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । यता राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेको छन् भने गठबन्धनमा आवद्ध दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा क्षेत्र नं १ मा नेपाली कांग्रेसको प्रभाव राम्रो देखिन्छ । यो क्षेत्रमा राप्रपाको समेत राम्रो मत छ । तर, कांग्रेससहितको गठबन्धन मिलेर गएको अवस्थामा एमालेलाई भने यो क्षेत्रमा जित निकाल्न फलामको चिउरा हुने निश्चित छ ।

नुवाकोट क्षेत्र नं २ मा पनि वडाध्यक्षहरुले पाएको मतका आधारमा नेपाली कांग्रेस नै अघि देखिन्छ । जहाँ कांग्रेसले २९ हजार ८ सय ६१ मत प्राप्त गर्दा नेकपा एमालेले २६ हजार ३ सय ६६ मत प्राप्त गरेको थियो । यता माओवादी केन्द्रकोे १६ हजार ६७ मत छ । त्यस्तै, राप्रपाले २ हजार २ सय ११ र एकीकृत समाजवादीले जम्मा ९ सय ६१ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनको मतपरिणामलाई मात्र आधार मान्ने हो भने नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको स्थान राम्रो छ । त्यसैले यी दुवै क्षेत्रमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको अवस्थामा पनि जित निकाल्ने लक्षण देखिन्छ ।

नुवाकोट कांग्रेसमा परिवारवादको आरोप

नुवाकोटमा कांग्रेसको राम्रो स्थानमा हुँदाहुँदै पनि उसमाथि एउटा आरोप छ । त्यो हो– परिवारवाद । नुवाकोट कांग्रेस विशेषगरी केसी र महत परिवारको वरिपरि घुम्नुले पनि यो आरोप खेप्नुपरेको धेरैको विश्लेषण छ ।

केन्द्रीय राजनीतिमा प्रभाव जमाउने अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. प्रकाशशरण महतसहित लामो समय नेपाली कांग्रेस नुवाकोटको नेतृत्व गरेका जगदीश्वर नरसिंह केसी हुन् या १४ औं महाधिवेशनबाट सभापति बनेका रमेशकुमार महत ।

जगदीश्वर र रमेश पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । यसअघि दुवै नेता प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए ।

त्यस्तै, लामो समय चिकित्सा पेसामा आवद्ध रहेका डा. केदारनरसिंह केसी पनि राजनीतिक वृत्तमा आफ्नो स्थान बनाइरहेका छन् । १४ औँ महाधिवेशनमा महतसँग थोरै मतान्तरले जिल्ला सभापतिमा पराजित भएका केदारले समेत आगामी निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । उनले सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा नुवाकोट क्षेत्र नम्बर १ मा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन् । उनको दाबी नै सही । किनकी, नुवाकोटको कांग्रेस राजनीतिमा केसी राम्रो छबी भएका नेताका रुपमा चिनिन्छन् ।

केसी र महतपछि लामा फ्याक्टर

नुवाकोट कांग्रेसको राजनीतिमा केसी–महतपछि उदाएका अर्का पात्र हुन्– प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा । अघिल्लो निर्वाचनमा समानुपातिकबाट सांसद बनेका उनी नुवाकोटको राजनीतिमा आफ्नो अस्तित्व स्थापित गर्न अघि बढिरहेका छन् । राजनीतिसँगै ठेक्कापट्टामा समेत सक्रिय लामा विकास निर्माणका काममा अघि देखिन्छन् । जसको कारण आगामी निर्वाचनमा उनले समेत प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेको उनी निकटस्थहरु बताउँछन् ।

जसको कारण पनि आगामी निर्वाचनमा गठबन्धनलाई नुवाकोटमा टिकट बाँडफाँटमा निकै सकस पर्ने देखिन्छ । क्षेत्र नं १ मा ०७४ मा पनि माओवादीले जितेकाले पनि उसको दाबी हुनु स्वभाविकै हो । त्यसो त माओवादीले यसअघि निर्वाचित हितबहादुर तामाङलाई नै आगामी निर्वाचनमा अघि बढाउने तयारी गरेको छ । भने, यता कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले पनि सो क्षेत्रबाट निर्वाचन लड्ने इच्छा जायर गरेका छन् । यसअघि काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचनमा पराजित भएका महतले आगामी निर्वाचनमा सुरक्षित स्थानको रुपमा नुवाकोट क्षेत्र नं १ रोजेपछि नुवाकोटको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । त्यसैले गठबन्धनलाई यो क्षेत्रमा टिकट बाँडफाँटमा सकस हुने देखिन्छ ।

साथै, विकल्पको रुपमा तामाङलाई समानुपातिक सूचीमा राखेर अघि बढाउने र महतलाई टिकट दिनसक्ने धेरैको आँकलन छ । तर, केन्द्रमा समेत गठबन्धनभित्र भागबण्डा नमिलिरहेको अवस्थामा जिल्लागत रुपमा विवाद देखिएमा देशका धेरै स्थानसहित नुवाकोटको सो क्षेत्रमा गठबन्धनमै आवद्ध दलहरुबीच मित्रवत प्रतिष्पर्धा नहोला भन्न सकिन्न ।

यस्तै, निर्वाचनमा नुवाकोट क्षेत्र नं २ मा पनि गठबन्धनलाई टिकट वितवरणमा सहज छैन । यसअघि २०७४ को निर्वाचनमा कांग्रेसबाट पराजित भएका अर्जुननरसिंह केसी यसपटक निर्वाचन लड्ने तयारीमा रहेका छन् । उनले सार्वजनिक रुपमा नै आफूले पुरानै क्षेत्र अर्थात नुवाकोट क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरिसके ।

केसीसहित समग्र कांग्रेसको समेत राम्रो पकड रहेको क्षेत्र नं २ मा अघिल्लो निर्वाचनमा बाम गठबन्धनका अघि केसीले राम्रो मत ल्याएका थिए । यता सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने यसअघि समानुपातिकबाट सांसद बनेका बहादुरसिंह लामाको पनि यसपटक प्रत्यक्षमा निर्वाचन लड्ने तयारीमा छन् । यसअघि समानुपातिक सूचीबाट सांसद बनेकाहरुलाई अब पनि समानुपातिक सूचीमा राख्न नपाउने परिपत्र गरेसँगै तामाङले प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा लागेको उनी निकटस्थ बताउँछन् । जसले कांग्रेसभित्रै टिकट वितरणमा सकस पर्ने देखिन्छ ।

यस अघि प्रकाशित यी सामग्री पढ्नुभयो ?

गण्डकीलाई फर्केर हेर्दा : कुन जिल्लामा कसको दबदबा ?

बागमतीका ३३ निर्वाचन क्षेत्रको नालिबेली, कहाँ को बलियो ?

फर्केर हेर्दा ०७४ निर्वाचन : कति थियो कांग्रेसबाट निर्वाचित २३ सांसदको मतान्तर ?

चर्चित अनुहार : ०७४ ले रोक्यो, ०७९ ले के गर्ला ?

काभ्रेपलाञ्चोक–२ मा गोकुल बाँस्कोटालाई यसकारण हम्मे–हम्मे !

प्रतिष्पर्धी एउटै मोर्चामा : सिन्धुपाल्चोक-१ मा अग्नि कि मोहन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?