आज दर खाने दिन : कस्ता खानेकुरा खाने ?

लोकपथ
140
Shares

हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष चाड–हरितालिका तीज । आज त्यसैको अघिल्लो दिन अर्थात दर खाने दिन । तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ ।

विशेषगरी यो दिन मिठा मिठा परिकार बनाएर खाने, नाचगान गरिन्छ । विवाह गरेका चेलीहरु माइती आउँछन् । वर्षभरका दुःख सुख साटासाट गर्दै तीजलाई हर्षोल्लासका साथ मनाउँछन् ।

तर, यसरी अघिल्लो दिन विविध परिकार खाएर भोलिपल्ट निराहार व्रत बस्दा स्वास्थ्यमा असर गर्ने पोषणविद् डा. अरुणा उप्रेतीको भनाइ छ । उसो त दरको दिन के खाने ? के नखाने ? भन्नेबारे डा. उप्रेतीको सुझाव यस्तो छ :

के खाने  ?

– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेस गर्नुपर्छ ।

– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।

– मासु खानेहरुले थोरै खाने र शाकाहारीहरुले दूध र दूध जन्य परिकारहरु पनि आफ्नो स्वास्थ्य हेरेर खाने ।

– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।

– हिन्दू संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समय–समयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।

कस्ता खानेकुरा नखाने ?

– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पीरो खानेकुरा खानुहुँदैन ।

– दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रंग प्रयोग भएका मिठाइ नखाने ।

– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।

– साथै, मासु खानेहरुले अघिल्लो दिन धेरै मात्रामा माछामासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जसकारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछामासु र दुग्धजन्य परिकार खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?