काठमाडौं प्रशासनद्वारा पाशुपत क्षेत्रमा मासु, मदिरा बिक्रीवितरणमा रोक

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

मंगलवार पर्न गएको हरितालिका तीज पर्वलाई मध्येनजर गर्दै सुरक्षा लगायत धार्मिक, साँस्कृतिक मर्यादा कायम राख्न भन्दै प्रशासनले सार्वजनिक सूचनामार्फत् जानकारी गराएको छ ।

तीजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन् ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ । कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ ।

‘गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकिएको’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?