बंगबन्धु गोल्डकपमा सहभागी हुन नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । भोली ‘सोमवार’देखि बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय फुटबल खेलाडी सहितको टोलीलाई बिदाइ गरिएको छ । 

सातदोबाटोपस्थित एन्फा कम्प्लेक्समा आइतवार बिहान एक कार्यक्रमको आयोजना गरि बंगबन्धु खेल्ने खेलाडी सहितको टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरेका हुन् । 

डिफेन्डिङ च्याम्पियन नेपालले बंगबन्धु गोल्डकपमा अन्तिम समयमा खेल्ने निश्चित गरेको थियो ।

अघिल्लो संस्करणको ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्येबाट २५ हनार डलर मात्रै पाएपछि नेपालले बंगलादेश फुटबल फेडेरेशनले पुरा रकम नदिएसम्म प्रतियोगिता नखेल्ने अडान लिएको थियो । तर, अन्तिम समयमा सो रकम पाएपछि नेपाली टिमले बंगबन्धुमा सहभागिता जनाएको हो । 

साबिक विजेता नेपाल यो प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ । नेपालले आफ्नो समूहको पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ताजकिस्तानसँग अक्टोबर २ मा तथा प्यालेस्टाइनविरुद्ध ६ तारिखमा भिड्ने छ । 
 
६ टिम रहेको यो प्रतियोगिताको समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।

गत संस्करणमा नेपालले फाइनल खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । गोल्डकप असोज २६ गतेसम्म चल्नेछ । 

प्रारम्भिक नेपाली फुटबल टोली

गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर :  दिनेश राजवंशी, देवेन्द्र तामाङ, ‘कप्तान’ विराज महर्जन अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?