मिस्टर ह्यान्डसम नेपाल २०१८ मिलन रेग्मीसँग अन्तर्वार्ताः पैसाको भरमा होइन, ओभरअल मूल्याङ्कन गरेर छानिन्छ

सौन्दर्य प्रतियोगिता महिलाहरुका लागि मात्र हो भन्ने अवधारणा पुरानो भएसँगै आजकल पुरुषहरुका लागि पनि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना हुन थालेका छन् । त्यसै अन्तर्गत ‘अमाजोन इन्टरटेन्मेन्ट’ले आयोजना गरेको मिस्टर ह्यान्डसम नेपाल २०१८ को पहिलो श्रङ्खलाका विजेता हुन् मिलन रेग्मी ।

२६ वर्षे रेग्मी ६ फिट अग्ला छन् । नियमित व्यायामले गर्दा होला शरीर पनि फिट देखिएको । त्यस्तै अनुहार पनि नहाँस्दै हँसिलो लाग्ने । जेन्टल पर्सनालिटी । फेरि पेशाले शिक्षक भएकाले ज्ञानमा कमी हुने त कुरै भएन । भनिन्छ नि यसलाई त भगवान्ले फुर्सदमा बनाएका भनेर । यी सबै गुणहरुको सामञ्जस्यले नै उनलाई उपाधि दिलाएको हुनसक्छ । उनको भनाइ पनि यस्तै छ । ‘नाम सौन्दर्य प्रतियोगिता भएकाले सुन्दरतालाई मात्र प्राथमिकता दिइने होइन रहेछ, ओभरअल कुराहरुलाई मूल्याङ्कन गरियो ।’

उपाधि जितिसकेपछि फोन, म्यासेजमा भेल बनी आएका बधाई तथा शुभकामनाको प्रतिक्रिया दिन भ्याइनभ्याइ छ उनलाई । ‘रातोरात सेलिब्रेटी भएँ कि जस्तो लाग्दैछ ।’ उनले हाँस्दै बताए ।सौन्दर्य प्रतियोगितामा भाग लिने उनको कुनै योजना थिएन । तर, आफू जिम गर्न जाने ठाउँमा प्रतियोगिताको फर्म देखेपछि उनलाई अवसर खेर फाल्न मन लागेन । फेरि पहिलादेखि नै मोडलिङमा रुचि भएकाले यस्ता प्रतियोगिताले आफ्नो वर्षौंदेखिको चाहनालाई साकार बनाउने हो कि भन्ने अपेक्षा छुट्टै थियो ।

त्यसो त उनलाई अडिसनमा समेत चयन हुन्न कि भन्ने डर थियो तर, अडिसन पार गरेर प्रतियोगितामा ट्रेनिङ सेसन शुरु भएपछि भने उनले आफूलाई निखार्दै लगे । ‘विजेता नै हुन्छु भनेर निश्चित नभए पनि कुनै न कुनै टाइटल जित्छु भन्नेमा ढुक्क थिएँ ।’ उनले मख्ख पर्दै सुनाए । 

यस्ता प्रतियोगिताहरुमा पैसाकै भरमा जित्ने, जिताउने गरिन्छ भनेर उनले नसुनेका होइनन् । तर, वास्तविकता केही भिन्न लाग्यो उनलाई । यो क्षेत्र बाहिर जति बदनाम छ भित्र त्यति नराम्रो पनि रहेन रहेछ भन्ने उनको बुझाइ छ । त्यसैले आगामी दिनमा योभन्दा ठूलो स्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर जुट्यो भने उनले त्यसलाई उम्किन नदिने सोचमा छन् । ‘राष्ट्रलाई नै प्रतिनिधित्त्व गर्ने अवसर मिल्यो भने झन् गज्जब !’ रेग्मीले मुस्कुराउँदै आफ्नो इच्छा जाहेर गरे । 

प्रतियोगिता हुँदै गर्दा एकताका उनले बाहिरिने सोच पनि बनाइसकेका थिए । पढाइ, काम, प्रतिस्पर्धा सबैको प्रेसरले गर्दा समय व्यवस्थापन गर्न गाह्रो भइरहेको थियो उनलाई तर, आयोजकहरुले नै उनमा सम्भावना देखेर नबाहिरिन सल्लाह दिएपछि उनले आफ्नो निर्णय बदले । ठीक समयमा आफूले निर्णय बदलेकोमा अहिले उनलाई ढुक्क महसुस हुन्छ । आधि बाटो हिँडेर फर्किंदा फाइदा कसैलाई नहुने रहेछ भन्ने शायद बुझे उनले । 

पेशाले शिक्षक रेग्मी भविष्यमा शिक्षणलाई पार्ट टाइम पेशाको रुपमा लैजाने बताउँछन् । उनलाई मोडलिङमै विशेष रुचि भएकाले यसैमा बढी समय र ध्यान दिने उनको योजना छ । तर, उनलाई आफू शिक्षक भएकाले प्रतिस्पर्धामा धेरै मद्दत पुगेको जस्तो फिल हुन्छ । विद्यार्थीहरुमाझ उभिएर पढाउन बानी परेकाले स्टेजमा बोल्न उनलाई त्यति गाह्रो भएन । भन्छन्, ‘मासलाई फेस गर्न त्यति डर लागेन ।’ त्यसैगरी, आफ्नो शिक्षण कलाकै कारण प्रश्नको उत्तर दिन पनि सहज भएको उनको भनाइ छ । उपाधि जितिसकेपछि पनि आफ्नो विद्यार्थीहरुबाट आएको असङ्ख्य बधाई तथा उल्लासपूर्ण प्रतिक्रियाहरुबाट उनी सन्तुष्ट छन् ।

उनकी श्रीमती पनि मोडलिङमै रुचि राख्ने भएकाले व्यक्तिगत जीवनले व्यवसायिक जीवनमा कुनै असर पारेको छैन । त्यसो त उनीहरुको भेट पनि फेसन शो मै भएको थियो ।

प्रतियोगिताले महिला फ्यानहरु त टन्नै दियो होला नि भन्ने हाम्रो प्रश्नमा उनले मुस्कुराउँदै उत्तर दिए ‘धेरै होइन केही । तर, म विवाहित हो ।’ उनले तीन वर्षअघि विवाह गरेका हुन् । उनकी श्रीमती पनि मोडलिङमै रुचि राख्ने भएकाले व्यक्तिगत जीवनले व्यवसायिक जीवनमा कुनै असर पारेको छैन । त्यसो त उनीहरुको भेट पनि फेसन शो मै भएको थियो । एक अर्कासँग मन मिलेपछि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । उनकी श्रीमती अमाजोन इन्टरटेन्मेन्टले नै आयोजना गरेको मिसेस ग्लोबल नेपाल २०१८ मा थर्ड रनर अप भएकी छिन् । 
‘त्यसैले मोडलिङमै करियर बनाउन मलाई कुनै समस्या छैन ।’ मिलनले दङ्ग पर्दै बताए ।

मिस्टर ह्यान्डसम नेपाल २०१८ को पहिलो श्रङ्खलाका विजेता मिलन रेग्मीलाई लोकपथ परिवारको तर्फबाट बधाई एवम् शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?