तीजको हराउँदो रौनकता, बढ्दो देखावटी

हरितालिका तीज अर्थात् हिन्दू धर्मावलम्बी महिलाहरुको महान पर्व । जसका अघिल्लो दिन आज दर खाएर शुभारम्भ गरिँदैछ । भोलि (मंगलबार) तीजको मूख्य दिन हो । यस दिन विवाहित महिलाहरु आफ्नो पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित युवतीहरु योग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । त्यसैले तीजलाई महिलाहरुले प्रेमको पर्वका रुपमा समेत मनाउने गर्छन् ।

परम्परागत रुपमा मनाइँदै आइएको ‘हरितालिका तीज’ को सुरुवात प्रेमकै कारण भएको पाइन्छ । यस पर्वले शिव र पार्वतीको मायालाई प्रतिबिम्बित गर्छ । तीजको व्रत बसेकै कारण पार्वतीले शिवजीलाई आफ्ना पतिका रुपमा पाएकी हुन् भन्ने हिन्दू धर्मावलम्बीहरुको विश्वास छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले मनमनै शिवजीलाई आफ्नो पति मानेतापनि उनका पिताले उनको विवाह विष्णुसँग तय गरिदिएका थिए । त्यसैले पार्वतीका सखीहरुले उनलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखे । सोही ठाउँमा पार्वतीले निर्जला व्रत गरी महादेवलाई आफ्नो पतिका रुपमा प्राप्त गरेकाले यस दिनलाई हरितालिका तीजका रुपमा मनाइएको हो भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । त्यसैले हरित अर्थात् ‘हरण’ र आलिका अर्थात् ‘सखीद्वारा’ हुँदै यस पर्वको नाम ‘हरितालिका तीज’ रहन गएको किम्वदन्ती छ ।

हरेक वर्ष भाद्र शुक्ल द्वितीयको दिन बेलुका विभिन्न प्रकारका मिष्ठान्न भोजन ‘दर’ खाएर भोलिपल्ट अर्थात् तृतीयाका दिन निराहार, निर्जल व्रत बसेर यो पर्व मनाउने चलन छ । यद्यपि पानीसमेत नपिई आफ्नो स्वास्थ्यलाई असर पुर्‍याएर व्रत बस्नु ठीक होइन भन्ने मानसिकताको विकास भएसँगै महिलाहरुले पानी र फलफूल खाएर व्रत बस्ने गरेका छन् ।

समयसँगै व्रत बस्ने प्रक्रियामा परिवर्तन आइरहेको छ । र, परिवर्तन व्रतको प्रक्रियामा मात्रै नभएर तीजको प्रक्रियामा समेत देखा परेको छ । कुनै पनि कुरामा नयाँ आयाम देखिनु सुखद् कुरा हो । तर, परिवर्तनका नाममा आएका विकृतिले भने पर्वको मान्यता नै लोप हुँदै जाला कि भन्ने चिन्ता बढ्न थालेको छ ।

आखिर कस्तो हुनुपर्छ त तीज ? एकपटक हाम्रा आमा, दिदीहरुले मनाएको तीजलाई सम्झौं न ।

वास्तवमा तीजको धार्मिकका साथै सामाजिक महत्व पनि छ । पहिलेको नेपाली समाजलाई हेर्ने हो भने उदारवादी सोच, लैङ्गिक समानता, महिलाको पहुँच आदिजस्ता विषयहरु एकादेशको कथाजस्तो लाग्छन् । नौ डाँडा पारि माइती, सबेरै घाम झुल्किनु अघिदेखि नै ढिकी जाँतो र मेलापात, घरधन्दा, परिवार मै अल्झिएर दिन बित्ने क्रममा छोरीहरु औँला भाँच्दै वर्षौंदेखि माइती जाने दिनको पर्खाइमा हुन्थे ।

त्यसैले तीज चेलीका लागि विशेष हुन्थ्यो । वर्षभरि झेलेका दुःख, पीडाहरुका बारेमा धक फुकाएर आमासँग गुनासो गर्ने, वर्षभरि मीठोमसिनो चाख्न नपाएको जिब्रोले स्वाद फेर्ने, आफ्ना बालसखाहरुसँग भेटेर आ–आफ्ना घरपरिवारका बारेमा कुरा गर्दै रमाइलो नाँचगान गर्ने सुनौलो अवसर हुन्थ्यो ।

आफ्ना पति साथै सम्पूर्ण परिवारको सु–स्वास्थ्य र समृद्धिका लागि मनबाटै प्रार्थना गर्थे । कामना गर्थे । रातो सारी, टिकी, हातभरि काँचका राता हरिया चुरा, रातै झुत्तो पोते, अनि सिउँदोमा झपक्कै सिन्दुर नै श्रंगारको प्रतीक मानिन्थ्यो ।
अनि तीजको रहर आयो बरी लै ‘गीतले पूरै तीजको मर्म समेट्थ्यो । सरल तर सुन्दर थियो, तीज । महिलाहरु आफैंले मौलिक गीत रचना गर्थे र धीत मारुञ्चेल नाच्थे । तर, समयसँगै तीजको रौनकताले काँचुली फेरेको छ । अहिलेको तीज मात्तिएको छ । बेलगाम बिनाझैं भएको छ । भड्किलो हुँदै गएको छ । तीजको हावा चल्दा नचल्दै पार्टी प्यालेस र सभा गृहहरुमा साउन्ड सिस्टमहरु घन्किन थाल्छन् ।

दर खाने निम्तोको ओइरो लाग्छ । महिनाभरिको दर कार्यक्रमलाई पुग्ने गरी अगाडि नै कपडा र गहनाहरु छुट्याइन्छन् । सुुन्दरताको होडबाजी चल्छ । तीजका गीतहरुमा तीजको मर्म समेट्ने बाहेक सबै किसिमका शब्दहरु छताछुल्ल पोखिएका हुन्छन् । व्रत बस्नु पनि ‘फेशन’ जस्तै भइसकेको छ ।

अझ कतिपयले त सामाजिक सञ्जालमा आफूलाई ‘शो’ गर्नकै लागि अनेक तडकभडक गर्न थालेका छन् । जसकारण तीजलाई उत्सवको चाडभन्दा पनि विकृति र सामाजिक समस्याका रुपमा समेत हेर्न थालिएको छ ।

सास्वत धर्मले सबै कुरालाई निर्देशन गरेको छ र हामीले सोही निर्देशन अनुरुप पालना गर्नुपर्ने शास्त्रको मान्यता हो । समाजले शास्त्रीय मर्यादा नबुझेर चाडपर्वलाई आफ्नै पारामा मनाउने गर्दा विकृति र भड्किलो हुने गरेको संस्कृतिविद् डा. देवमणी भट्टराईको ठम्याइ छ । ‘महिनौं अघिदेखि दर खाने, सबैले एकै प्रकारको सारी लगाउने, गहनाको प्रदर्शन गर्ने, तिजको नाममा गरिने खर्चजस्ता कुराहरुले समाजमा विभेद ल्याएको छ,’ उनी बताउँछन् ।

मुख्यतय तीजको व्रत बस्ने अघिल्लो रात ११ बजेसम्म दर खाइसक्नुपर्छ । ‘भोलि व्रत बस्ने भएकाले आडिलो र दरिलो हुन दर खाने गरिएको हो,’ उनले भने, ‘महिनौं अघिबाट विभिन्न दरको कायक्रम हुनु पार्टी प्यालेसमा बुकिङ नै गरेर देखावटी र भड्किलो तरिकाले गरिने क्रियाकलापले समाजलाई विकृतिको बाटोतर्फ धकेलिरहेको छ भन्ने बुझ्न गाह्रो नपर्ला ।’

तीज गीतलाई भड्किलो बनाउँदै सामाजिक सञ्जाल : 

एकसाता अघि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो बाहिरियो । उक्त भिडियो थियो अभिनेत्री एलिजा गौतमको । उनले हिन्दी गीत ‘काला चश्मा’ मा बनाएको टिकटकले चौतर्फी आलोचना पायो । तैपनि, त्यही शैलीमा थुप्रै तीजका गीतमा पनि भिडियो बने ।

त्यो शैलीले तीज गीतको मौलिकपनलाई नै धरासयी बाटोतर्फ लगेको भन्दै धेरैले आलोचनासमेत गरे । टिकटकमा फलोअर्स र लाइक बढाउने होडबाजीले चाडपर्व विशेष गीतमा मौलिकता मासिँदै गएको अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल बताउँछन् । ‘तीजका गीतमा महिलाहरुको दुःख बेदना समेटिएको हुनुपर्ने हो,’ उनी भन्छन्, ‘पछिल्लो समय तीज र दोहोरी मञ्चहरु फोहोरी मञ्च हुँदै गएका छन् ।’

यसरी कुनै पर्व विशेष होस् या सामाजिक सद्भाव बढाउने रीति रिवाजको मौलिकता जोगाउन र यसमा देखिएका विकृतिलाई रोक्न सरोकारवाला निकायको बेलैमा ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?