काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले बताए ।
“तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्ने छ,” जोशीले भने, “अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउने छ भने स्वदेशमा नै कसरी गूणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।” फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकुन् भन्ने उद्देश्य सहित एक्स्पो आयोजना गरिएको जोशीको भनाई छ ।
भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोका संयोजक ओम बस्नेतले स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको बताए । यद्यपी राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको बताए । यस पटकको एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्राण्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए ।
“स्वदेशमा नै गूणस्तरीय फर्निचर तथा फर्निसिङका उत्पादन तयार हुन थालेको छ र त्यस्ता उत्पादनको बजार बिस्तार भईरहेको छ भन्ने सन्देश दिनका लागि पनि एक्स्पोलाई प्रायोजन गरेका हौं,” उनले भने । स्वदेशी र आयातित उत्पादनको गूणस्तर र मूल्य तुलना गर्न पनि उनले अवलोकनकर्तालाई आग्रह गरे ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लि.ले गरेको छ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले उदयीमान अवस्थामा पुगेको फर्निचरजन्य उत्पादनको बजार कोरोनाका कारण केही सुस्त भएको र एक्स्पोले त्यसलाई पुनः उचाई दिनेमा आफु विश्वस्त रहेको बताए । बजारमा भौंतारिएर फर्निचरजन्य उत्पादनको खोजी गर्नुपर्ने बाध्यतामा रहेका उपभोक्तालाई एकै छानामुनी गूणस्तरीय उत्पादन छानेर किन्ने अवसरका लागि एक्स्पो आयोजना गरिएको प्रधानको भनाई छ ।
किचन, बेडरूम, बाथरूमका साथै, आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् । एक्सपोमा भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका प्रदर्शक पनि सहभागि हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया