काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती उनका सुपुत्र बैंकका संस्थापक तथा मनकामना दर्शन प्रा. लि. का सञ्चालक राजेश बाबु श्रेष्ठले सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन् ।
धनुषाको धवौली घर भएका सन्तोष कुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त, कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृतिले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गरे । साथै, शिक्षा, स्वस्थ्य, दैवी प्रकोप, संस्कृति प्रवर्धन लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शन प्रा. लि. ले आगामि दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउदै विद्यार्थीको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया