निर्मला हत्या प्रकरणः ‘भेजिनल स्वाब’ मै शंका

काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ६७ दिन पुगिसकेको छ । हत्या भएको झण्डै दुई महिनाभन्दा बढी बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन भने यो घटना झनभन्दा झन् कठिन र रहस्यमयी बन्दै गएको छ ।

निर्मला पन्तका बाबुआमाले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र स्थानीय आयुष विष्टको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएपछि डीएनए नै नक्कली पो हो कि भन्ने आशंका व्यक्त गरेका छन् । निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवीले ‘भेजिनल स्वाब’ मै प्रश्न उठाएका छन् भने स्थानीयले पनि शंका गर्न थालेका छन् ।

घटना घटेको यत्रो दिनसम्म पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय फेरि आन्दोलनमा उत्रेका छन् ।

घटना घटेको दिनदेखि नै निर्मलाका परिवारले बम दिदीबहिनी र निलम्बित एसपी डिल्ली विष्टमाथि शंका गर्दै आइरहेका थिए । प्रहरीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सुरुवाल कपडाले धोइदिएपछि, यौनाङ्ग सफा गरेर प्रमाण मेटाएपछि निर्मलाका आफन्तले प्रहरीतर्फ नै शंका गरिरहेका छन् ।

आन्दोलनसँगै निलम्बित एसपीको डीएनएसमेत परीक्षण गर्नुपर्ने आवाज उठेपछि प्रहरीले निलम्बित एसपी डिल्ली विष्टसँगै तीन जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरी पठाएको थियो ।

प्रहरीले अन्य प्रमाण मेटाएर भेजिनल स्वाबलाई मात्र प्रमाण भनिरहँदा प्रमाणमाथि नै शंका उठ्नु स्वभाविक देखिएको छ ।

स्थानीयवासीले शुरुदेखि नै विष्टका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टमाथि अनुसन्धान गर्दै आइरहेका छन् । अनुसन्धानका लागि भन्दै प्रहरीले तिनै जनाको नमूना संकलन गरेको थियो ।

केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेस्टमा डीएनए मेल नखाएको रिपोर्ट आयो ।

निर्मलाकी आमाले भनिन्, ‘प्रहरीले पहिले पनि प्रमाण मेटाएका थिए, लुगा पखालेका थिए, रिपोर्ट गर्दा पनि सुनेनन्, दोषी नभए अरु दोषी को हो त?’

निर्मलाका बाबुआमा काठमाडौंमा आएर प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर न्यायको याचना गरेका थिए । प्रधानमन्त्री केपी ओली ‘निर्मला आफ्नी छोरीजस्तै भएको’ भन्दै न्याय दिलाउने धाप दिएका थिए ।

हत्या भएको ६६ दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसक्दा निर्मलाका परिवारलाई थप पीडा भएको छ ।

यसअघि प्रहरीले भदौ ४ मा अभियुक्त भन्दै सार्वजनिक गरेका दिलिपसिंह विष्टको पनि डीएनए म्याच नभएपछि रिहा भएका थिए ।

कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान थालिरहेको छ । यता गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरीको लापरवाही भएको संसदमा बताएका थिए । हालै उनले मन्त्रीपरिषदको निर्णयपछि प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् ।

प्रतिवेदनमा के छ भन्ने कुरा नखुलाइए पनि निलम्बित एसपी डिल्ली विष्टको अनुसन्धानमा गम्भीर त्रुटि भएको गृहमन्त्री थापाले नै बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?