कक्षा १२ को नतिजा बुधबार सार्वजनिक गर्ने बोर्डको तयारी

लोकपथ
203
Shares

राष्ट्रिय परीक्षा बोर्डले भोलि (बुधबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजाको तयारी अन्तिम चरणमा पुगिसकेपनि केही प्राविधिक त्रुटीहरु सच्याउने काम भइरहेको बोर्डले जनाएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बोर्डले आज (सोमबार) नै नतिजा सार्वजनिक गर्ने चर्चा चलेपनि आज भने नतिजा सार्वजनिक नहुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लोकपथलाई जानकारी दिए । ‘हामीले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेका थियौं,’ उनले भने, ‘आज सम्भावना रहेन अब भोलिसम्म नतिजा सार्वजनिक गर्ने योजनामा छौं तर अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन ।’

बोर्डले यसवर्ष नियमित, आंशिक र ग्रेड वृद्धि विद्यार्थीहरुको बेग्लाबेग्लै नतिजा सार्वजनिक गर्ने जनाएको छ । तर, ग्रेड वृद्धि र आंशिक विद्यार्थीको नतिजा अक्षराङ्कन पद्धतिबाट र नियमित विद्यार्थीको भने लेटर ग्रेडिङ अनुसार हुने डा. शर्माले बताए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ का अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यदि तोकिएको अंक भन्दा कम ल्याएमा सर्टिफिकेटमा नन ग्रेडेड अर्थात एनजी लेखिनेछ । एनजी पाउने विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न पाउनेछैनन् ।

गत जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?