काठमाडौं । सनराइज बैंकले सिरहा, रौतहट र झापा जिल्लामा गरी चारवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले ९२ औं र ९३ औं शाखारहित बैंकिङ सेवा सिरहाको कल्याणपुर नगरपालिका–३, इटारी प्रसाही र रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा सञ्चालनमा ल्याएको छ ।
बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
त्यस्तै, बैंकले सिरहा जिल्लाको लहान नगरपालिका– १८, शोभापुरमा ९४औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकोे छ । साथै, शुक्रबार भदौ १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ६, शरणामतीमा ९५औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएका ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा कार्यालय, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया