अनुमति बिना विभिन्न ब्राण्डको लोगो राखेर चामल बेच्ने दुई जना पक्राउ, उद्योग सिल

लोकपथ
133
Shares

काठमाडौं ।  बिना अनुमति विभिन्न ब्राण्डकाे लाेगाे राखेर चामल विक्री–वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। ‘सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्याेग’ का नाममा विभिन्न व्राण्डको लोगो राखेर चामल बेच्दै आएका दुई युवकलाई प्रहरीले  हिजाे (साेमबार) ललितपुरको सुन्दरीघाटबाट पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-९ शनिहाट घर भई हाल काठमाडौंको छाउनी बस्ने २७ वर्षीय एस अग्रावाल र ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर-५ पात्ले घर भई हाल कोलेश्वर बस्ने २७ वर्षीय बाल कुमार भन्ने लाल बहादुर वस्नेत रहेका छन् । उनीहरूलाई पक्राउ गरेसँगै प्रहरीले उद्योग समेत सिल गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार उनीहरुले भारतका विभिन्न कम्पनीहरुबाट आयातित चामलमा उत्पादन मिति, वर्ष र उत्पादक स्थानलगायतको विवरण नखुलाएको तथा लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्ड (थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, थकाली शाही बासमती, थकाली सोनम, थकाली उसिना, थैला सोना राईस) लगायतको लोगो राखेर विक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको हो ।

महाशाखाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट खटिएको टोलीले छापा मार्दा उद्योग परिसरमा एक लाख असी हजार तीस किलाे चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवम् बिग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलाे चामल फेला परेको थियो ।

उनीहरू नियन्त्रणमा लिई खाद्य ऐन, २०२३ बमोजिम अनुसन्धान खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?