एजेन्सी :सात वर्षअघि किम जुंग उन सत्तामा आएयता उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा जाने मानिसहरूको संख्यामा कमी आएको एक दक्षिण कोरियाली वकिलले जनाएका छन् ।
दक्षिण कोरियाली एकीकरण मन्त्रालयको आँकडालाई उल्लेख गर्दै वकिल पार्क बियंग सिउगले यस्तो बताएका हुन् ।
सन् २०११ मा २,७०६ जना उत्तर कोरियालीहरू देश छाडेर भागेकोमा गत वर्ष त्यो संख्या १,१२७ रहेको उनले जनाए ।
भगौडाहरूको संख्या घट्नुमा मुख्य कारणमा उत्तर कोरिया र चीनबीचको सिमा नाकामा बढी कडाइ गर्नु यो काममा संलग्न तस्करहरूले बढी रकम लिनु रहेको पाइएको छ ।
भगौडाहरू मध्ये अधिकांशले ढिलो–चाँडो दक्षिण कोरियाको नागरिकता पाउने गरेका छन् । यसविषयमा उत्तर कोरियाले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन् ।
दक्षिण कोरियाको अनुसार सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता ३० हजारभन्दा बढी उत्तर कोरियाली नागरिकहरू गैरकानूनी रूपमा सीमा कटेर दक्षिण कोरिया पुगेका छन् ।
अधिकांश भगौडाहरू उत्तर कोरियाबाट सबैभन्दा लामो सीमा जोडिएको छिमेकी देश चीन भएर दक्षिण कोरिया पुग्ने गरेका छन् ।
सैनिक गतिविधि नहुने दुई कोरियाबीचको क्षेत्र भएर जानुभन्दा उनीहरूलाई चीन भएर दक्षिण कोरिया जानु सजिलो हुने गरेको छ ।
चीनले उत्तर कोरियाली भगौडाहरूलाई शरणार्थीको रूपमा लिने गरेको छ्रैन् । यस्तालाई चीनले गैरकानूनी आप्रवासीका रूपमा लिएर प्रायः बलपूर्वक उत्तर कोरिया फर्काइदिने गर्छ ।
प्राविधिक रूपमा अझै युद्धको अवस्थामा रहे पनि पछिल्ला महिनाहरूमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ ।
यो महिनाको शुरूतिर दुई देशका नेताले प्योङयाङमा भेटवार्ता गरे । उनीहरूको भेटवार्ता निःशस्त्रीकरणमा केन्द्रित थियो ।
गत जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रिपति डोनल्ड ट्रम्प र किम जुंग उनबीच ऐतिहासिक शिखर वार्ता भएपछि दुई कोरियाली नेताले प्योङयाङमा भेटवार्ता गरेका हुन् ।
यसैबीच न्यूयोर्कमा शनिवार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यंग होले अमेरिकाले प्रतिबन्धहरू जारी राखेमा आफ्नो मुलुकले निःशस्त्रीकरण नगर्ने चेतावनी दिए ।
प्रतिबन्धहरूले अमेरिकाप्रतिको उत्तर कोरियाली अविश्वासलाई गहिरो बनाइरहेको उनले चेताए ।
उनले भने “अमेरिकामाथि विश्वास नभएसम्म हाम्रो राष्ट्रिय सुरक्षामा विश्वस्त हुने ठाउँ छैन र त्यस्तो परिस्थितिमा हामीले पहिला निःशस्त्रीकरण गर्ने कुरा हुँदैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया