के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा को हुन् ? निर्मलाको बलात्कारपछि हत्या भएको ६८ दिन पुगि सक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न किन सकेको छैन ? के प्रहरीले अपराधीलाई लुकाउन खोजेको हो ? सरकारको भूमिका किन सशक्त छैन ? महिलाको सुरक्षा खोइ ? के नेपाल पनि महिलाको लागि खतराको देश बन्दै छ ? लगायतका प्रश्नहरु आम नागरिकको चासोको विषय बनेको छ । 

त्यसैले बहसका स्वरहरु चौतर्फी गुञ्जिएका छन् । समय धेरै घर्किदै गएका कारण पनि यो विषय धेरै नै चासोको विषय बनेको छ । किनकी एक पछि अर्को गर्दै घटनाको अनुसन्धान झनै रहस्यमय बन्दै गएको छ ।  

चन्द्रपुर नगरपालिका– ६ की १८ वर्षीय सम्झना दास र उनकी १५ वर्षीय बहिनी सुस्मितामाथि गत भदौ २६ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । 

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्र्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुल्यो, पासवानलाई प्रहरीले पक्राउ ग-यो र अनुसन्धान थाल्यो ।  

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा असोज ८ गते मृत्यु भयो । 

 

गत भदौ २९ गते बाराको हलखोरिया जंगलमा लामो समय निराहार तपस्या गरेर अन्तर्राष्ट्रियस्तरमै ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बमजनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भयो ।

पीडित किशोरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्  । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र फुत्किएर आएर काठमाडौंमा पत्रकार सम्मेलन गरेको बताइन् । पत्रकार सम्मेलनपछि किशोरीले जावलाखेल प्रहरीमा उजुरी गर्न पुगेकी थिइन् । 

असोज ८ गते पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रेया सुनारको बलात्कार भयो अनि हत्या गरियो । 

बिस्कुट किन्न पसल हिँडेकी १० वर्र्षीय सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।

 

बालिकाको बलात्कारपछि हत्या गर्ने २७ वर्र्षीय कुशुम पौडेलले प्रहरी पक्राउ गरेको थियो । उनले रक्सी सहित लागुऔषध सेवन गरेर श्रेयालाई उनले १० रुपैयाँ दिइ नजिक बोलाएका थिए । पैसा पाएपछि खुशी श्रेयालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याए लगत्तै घाँटीमा समातेर झाडीमा धकेलेका थिए । त्यसपछि बेहोस बनेकी बालिकालाई उनले करणी गरी ढुंगाले टाउकोमा हानेर हत्या गरेको पौडेल समक्ष अपराध स्वीकार गरेका थिए । 

नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ की २६ वर्र्षीय बसन्ती परियारमाथि गत असोज ८ गते एसिड र छुरा प्रहार भयो । 

एसिड प्रहारबाट शरीरको करिब २५ प्रतिशत भाग जलेको थियो ।  छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको थियो ।प्रहरीले एसिड प्रहार गरेको अभियोगमा ३७ वर्र्षीय विमल श्रीपालीलाई पक्राउ गरेको थियो र उनले अपराध स्वीकारे पनि । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्बन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलले दाबी गरेका थिए ।  

असोज १० गते कालिकोटको खाँडाचक्र–९ धिमुमा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । 

डडेल्धुरामा असोज १२ गते १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।  स्थानीय २ युवकले बलात्कार गरेका थिए ।

 

२०७५ वैशाखदेखि भदौसम्म देशभरको तथ्याङ्क हेर्दा ७ सय १० वटा घटना जबरजस्तिकरणी सम्बन्धि, ३ सय ९१ वटा उद्योगसम्बन्धि, ३ सय ४० वटा बहुविवाह सम्बन्धि, ४० वटा बालविवाह सम्बन्धि, पाँच हजार ४ सय १७ वटा घरेलुहिंसा सम्बन्धि र १० वटा अवैध गर्भपतन सम्ब्न्धि घटना प्रहरीकहाँ दर्ता भएका थिए ।

विश्वमा नै महिला सुरक्षाको विषयमा चर्को आन्दोलन र बहस भइरहँदा  पनि महिला माथि हुने दुव्र्यवहार र महिला हिंसाको अन्त्य किन हुन सकेको छैन भन्ने विषयमा आआफ्नै तर्कहरु आउन थालेका छन् । 

फिनल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, डेन्मार्क आदि जस्ता विश्वका कति मुलुकहरु महिलामैत्री छन् भने कति महिलाका लागि क्रुर मानिन्छन् । सुडान, लिविया, क्युवा जस्ता मुलुकमा त महिलालाई मान्छेको दर्जासमेत दिइँदैन ।

पितृसत्तात्मक सोचबाट हुर्केको नेपाली समाज क्रमिक रुपमा महिला अधिकार स्थापित हुँदै गएको समाजमा रुपान्तरण भइरहेको समयमा यस्ता घटना छ्याप्छ्याप्ती बाहिर आएको हो । 

कुन मुलुक सबैभन्दा असुरक्षित ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचिमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दसौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यस प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको हो । 

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ? 

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्या सामान्य कुरा हो । यो देशमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ  । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढि महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्क छ । 

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो  । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढि अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् । र, ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गरिन्छ ।  १५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसालाई पनि सामान्य रुपमा लिइन्छ । 

सिरिया 

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिला नम्बरमा पर्ने आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ । 

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँका ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ । त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् । 

साउदी अरबिया 

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । कालो कपडाको सहाराले साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् । 

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ  । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् । 

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन रहेको छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ  । 

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै रहेको छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवति महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था रहेको छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् । 

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेका छन् । असुरक्षित गर्भपात, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ । 

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।  

हरेक देशमा आ–आफ्नो किसिमको कानून छ । तर पनि महिला हिंसा अन्त्य भने हुन सकेको छैन । 

……

नेपालको सन्र्दभमा कुरा गर्ने हो भने महिलाहरु सुरक्षित छैनन् । हरेक दिन छोरीचेलीले राजनीतिक पहुँच भएकाहरुबाट शोषण सहिरनुपर्ने ? बलात्कृत भइरहनुपर्ने ?यो अवस्था कहिलेसम्म ? नेपालमा कानूनतः पछिल्लो समय छोरीलाई चित्तबुझ्दो किसिमको अधिकार दिइएको छ । तर विभेद कम हुन सकेको छैन । कारण स्पष्ट छ, संविधान कार्यान्वयनको विश्वासिलो आधार । 

लैङ्गिक पाटोबाट पाउने अधिकारलाई एकछिन थाँति राखेर कुरा गर्ने हो भने पनि एउटा नागरिकको हैसियतमा महिलाले पाउने अधिकार किन पाएका छैनन् ? दैनिकजसो कोही न कोही, काहीँ न काहीँ बलात्कृत  भइरहेका छन् । पाशविक ढंगबाट हत्या पनि । हिंसा बढ्दैछ । तर राज्य संयन्त्र मौनता साँध्छ । अनि महिलाहरु ‘बलात्कार नगरिदेउन बाबै’ भन्दै माइतीघर मण्डलाबाट चिच्चाइरहने ?  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?