हुण्डीकाे रकमसहित पक्राउ परेका घ्याल्चेन पुर्पक्षका लागि थुनामा

लोकपथ
70
Shares

काठमाडौं । ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको रकमसहित पक्राउ परेका धावा घ्याल्चेनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतको भदौ १३ गते सोमबारको आदेशले घ्याल्चेनलाई कारागार चलान गरिएको हो ।

साउन १८ गते गोरखा चुमनुब्री घर भई हाल काठमाण्डौं महानगरपालीका ६ तीनचुली बंगला मार्ग बस्ने २४ वर्षीया धावा घ्याल्चेनको साथबाट स्रोत नखुलेको ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको बत्तीस लाख पचास रुपैयाँसहित उनलाई प्रहरीले पक्रेको थियो ।

उनलाई काठमाडौंको भृकुटी चोकस्थित सडकखण्डमा प्रहरी प्रभाग कपनबाट प्रहरी अधिकृतसहित खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बा.९९ प ७२०४ नम्बरको ‘एनएस’ मोटरसाइकलसहित समातेको जनाएको छ ।

पक्राउ परेका घ्याल्चेनले प्रहरी अनुसन्धानका क्रममा आफू बस्ने कोठामा थप रकम राखेको भन्ने खुलेको र प्रहरी वृत्त बौद्ध र प्रभाग कपनबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उनको डेरामा खोजतलास गर्दा थप सत्र लाख पचास हजार रुपैयाँ फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार धावा घ्याल्चेनको साथबाट उन्नचालीस लाख पचास हजार पचास रुपैयाँ नगद, बा.९९ प ७२०४ नम्बरको ‘एनएस’ मोटरसाइकल एक थान, धावा घ्याल्चेनको सक्कली नागरिकता एक थान, रेडमी मोबाइल एक थान, झोला एक थान र नीलो प्लास्टिकको झोला एक थान बरामद गरेको हो ।

हाल उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूरमा पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?