कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् । उनले “पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढी सामाजिक सञ्जालमा रमाउन थालेको बताउँदै आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने अवस्था आएको बताए ।”
पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुझ्न जरुरी रहेको उनले बताए । ज्ञानोदय सामुदायिक पुस्तकालयलाई थप व्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणका लागि स्रोत व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । उनले कोहलपुरमा पुस्तकालय स्थापनाका लागि विगतमा भएका प्रयासहरुकोसमेत प्रशंसा गरेका हुन् ।
पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका तीन जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कविता प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कृत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया