काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ‘आईसीसी’ टि–२० विश्वकप छनोटमा समूहको विजेता बन्दै दोस्रो चरणमा स्थान बनाउने लक्ष्य रहेको बताएका छन् ।
नेपाली खेलाडी सहितको टोली एशिया उपक्षेत्रिय छनोट प्रतियोगिता खेल्न सोमवार नै मलेसिया प्रस्थान गरिसकेका छन् । कप्तान खड्काले नेपाली टिम उपक्षेत्रिय च्याम्पियन बन्दै दोस्रो चरणमा स्थान बनाउने लक्ष्य रहेको बताएका हुन् ।
‘‘पछिल्लो समय नेपालमा भइरहेको टि-२० फर्माटको क्रिकेट माहोलले गर्दा हामीलाई मलेसियामा खेल्न केही सहज हुनेछ, हामीहरुले करिव ३ वर्षपछि टि-२० मा फर्किदैछौँ’’ उनले भने ।
साथै, उनले यो प्रतियोगिता पहिलो चरणको खेल भएकोले उत्कृष्ट खेल्नै पर्ने बाध्यता रहेको पनि जानकारी दिए । ‘‘यो फस्ट स्टेजको म्याच हो, नेपाल 'ओडिआई' मान्यता प्राप्त भएको राष्ट्र भएकाले पनि प्रतियोगितामा उत्कृष्ट खेल्नै पर्ने दवाव छ, हामीमाथि जिम्मेवारी र समर्थकको अपेक्षा धेरै छ’’ उनले थपे,
यता, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले च्याम्पियनसीपमा सहभागी अन्य टिमभन्दा नेपाली टिमको स्तरमाथि रहेको जानकारी दिए । ‘‘खेलाडीहरुको तयारी राम्रै छ, अन्य टिम भन्दा नेपाली टिमको खेल स्तर निक्कै माथि छ, नेपाली टिमले त्यहि स्तरलाई कायम राख्दै उत्कृष्ट प्रर्दशन गर्नेमा म आशावादी छु’’ उनले बताए ।
प्रशिक्षक टमाटाले नेपाली टिमको मनोबल उच्च रहेको पनि जानकारी दिए । नेपाली टोलीमा प्रदिप ऐरी र शदर भेषवाकरले पुनरागमन गर्न सफल भएका छन् । चोटका कारण ऐरी सन् २०१५ पछि पहिलोपटक राष्ट्रिय टिममा फर्किएका हुन् । प्रदिप र शरदको पुनरागमनले टिमको प्रदर्शन राम्रो हुने बताइएको छ ।
‘‘शरदसँग निकै राम्रो अनुभव छ, उनी राष्ट्रिय टिमका भरपर्दा खेलाडी समेत हुन्, प्रदीपले घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको छ, अझ भनौ टि-२० फर्माटमा उनले बेस्ट खेल्छन्’’ प्रशिक्षक टमाटाले लोकपथलाई भने ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेलमा यहि बिहीवार म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै दोस्रो खेलमा मलेसियाको तथा तेस्रो खेलमा थाइल्याण्डको सामना गर्नेछ ।
प्रतियोगिताबाट शीर्ष तीन टोलीले एशिया कपको लागि छनोट हुनेछन् । एशिया छनोटमा संयुक्त अरब इमिरेट्स ‘युएइ’ र कतारले स्थान पक्का गरिसकेका छन् । एशिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन ।
सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म अष्ट्रेलियामा टि-२० विश्वकप हुँदैछ । टि-२० विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया