‘कथा काठमाडौं’ को प्रेस शो : बजारमा सुनिएका नकारात्मक टिप्पणीजस्तो नभएको प्रतिक्रिया (तस्वीरहरू)

काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ ले जब पहिलो गीत सार्वजनिक ग–यो, त्यसपछि एउटा दृश्यका कारण विवादमा मुछिएपछि सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया पायो । जसका कारण हलसम्म दर्शक तान्न पनि फिल्मलाई गाह्रो भयो । भलै फिल्मको ट्रेलर सार्वजनिक भएपछि भने फिल्मले केही राहत पायो ।

तर‌, सीमित दृश्य हटाएपछि फिल्मले पिजी सर्टिफिकेट पायो ।

विवादबीच रिलिज भएको यो सिनेमाको आइतवार काठमाडौंमा प्रेस शो राखिएको थियो । उक्त शोमा चर्चित कलाकारहरुको पनि उपस्थिति थियो । फिल्म हेर्न दीपकराज गिरी, दीपेन्द्र के. खनाल, अशोक शर्मा, खगेन्द्र लामिछाने, केदार घिमिरे, प्रदीप भट्टराई, जितु नेपाल त्यस्तै पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए । यस्तै शोमा फिल्मका कलाकार प्रमोद अग्रहरी, प्रियंका कार्की, सन्ध्या केसी, संजोग कोइराला लगायतका कलाकार पनि उपस्थित थिए ।

फिल्म शुरु हुनुभन्दा अगाडि नै वर्षा राउतले ‘कथा काठमाडौं’ पहिले नै हेरिसकेको र दोस्रोपटक हेर्न आएको बताइन् ।

प्रियंका कार्कीले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताइन् भने यो चलचित्र कमर्सियलभन्दा पनि सन्देशमूलक भएको प्रतिक्रिया दिइन् । ‘व्यावसायिकभन्दा पनि सन्देशमूलक छ, सबैले हेर्नुपर्ने फिल्म छ ।’, उनले भनिन् ।

चलचित्र हेरिसकेपछि धेरैले कलाकारले गरेको अभिनयको तारिफ गरेका थिए । कथा औसत लागे पनि अभिनय भने तारिफयोग्य भएको धेरैको प्रतिक्रिया थियो ।

चलचित्र हेरिसकेपछि निर्देशक प्रदीप भट्टराईले एउटा सम्झनलायक फिल्म बनेको प्रतिक्रिया दिए । ‘कलाकारको अभिनय साँच्चिकै तारिफयोग्य छ, यस्ता फिल्म बन्नुपर्छ ।’, उनले भने ।

चलचित्रमा प्रमोद अग्रहरी र प्रियंकाको पाटोलाई धेरैले रुचाए । तीन फरक पाटोलाई जोडेर बनाइएको सिनेमामा महिला हिंसा र समाजमा देखिने खराब प्रवृत्तिलाई विषयवस्तु बनाइएको छ ।

बजारमा सुनिएजस्ता हल्ला चलचित्रमा नभएको प्रतिक्रिया पनि धेरैले दिए । पूजा शर्माले भनिन्, ‘बजारमा नकारात्मक टिप्पणी धेरै भएका थिए, तर त्यस्तो छैन रैछ, सबैले हेर्नैपर्ने खालको फिल्म रहेछ ।'

 

तस्वीरः अनिल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?