‘गुन्डा नाइके’ समिरमानलाई मुस्ताङ जेल सारियो, किन लगियो गौचनकै गृह जिल्लामा?

काठमाडौं । गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ ।  

गत असोज २३ गते काठमाडौंको नयाँ बानेश्वर नजिकै  शान्तिनगरस्थित खरिबोटमा नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा पक्राउ परी थुनामा रहेका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको हो।

कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेको बस्नेतलाई सोमबार बिहान बुद्ध एयरको उडानमार्फत मुस्ताङ ट्रान्सफर गरिएको नख्खु कारागारका जेलर जिवन दुलालले बताए । 

स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका बस्नेतलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले गत मंसिरमा भारतबाट पक्राउ गरेको थियो । मंसिर १७ गते  सार्वजनिक गरिएका बस्नेतलाई मंसिरदेखि नै नख्खु कारागारमा राखिएको थियो । उनको चालचलन शंकास्पद देखिन थालेको भन्दै सोमबार मुस्ताङ लगिएको कारागार स्रोतले जनाएको छ ।

‘कारागार ब्यवस्थापन विभागको पत्र अनुसार उनलाई नख्खु कारागारबाट पठाईएको हो’ जेलर दुलालले भने, ‘उनी यहाँ सामान्य कैदि–बन्दीको हैसियतमा थिए ।’ 

समिरमान बस्नेत  निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार हुन् । 

बस्नेतका परिवारले भने उनलाई मुस्ताङ कारागार सरुवा गर्ने नाममा राज्यले कतै गलत नियत त राखेको होइन भनी आशंका गरेका छन् । पारिवारीक स्रोतले भन्यो, निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारको आरोपमा मुद्दा झेलिरहेका बस्नेतलाई गौचनकै गृहजिल्लामा नै सरुवा गरिनुको उद्देश्य भने बुझिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?