बलात्कारका यी दर्दनाक घटनाहरु जसले न्याय मरेको अनुभूति दिलाउँछ

किन बढ्दैछ देशमा बलात्कारको घटना ? किन असुरक्षित हुँदै छन् महिला बालबालिका ? यस्तै–यस्तै प्रश्नको जवाफ खोज्दै छन् अहिले आम नेपाली । 

कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्तीकरणी गरेको ठहर्छ ।

नेपालको संविधानमा बलात्कारीलाई मृत्युदण्डको प्रावधान नरहे पनि दिनहुँ बढिरहेका बलात्कारका घटनाले सशंकित भएका आम नेपाली नागरिकले बलात्कारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने आवाज उठाइरहेका छन् । अर्को थरी यही राजनीतिक पृष्ठभूमिमा टेकेर मृत्युदण्ड दिने हो भने जालसाजी हुनसक्छ भन्ने आशय व्यक्त गरिरहेका छन् । 

हरेक दिन बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । चार वर्षकी अवोध बालिकादेखि ७५ वर्षकी वृद्धासम्म बलात्कारको शिकार भएको खबर आइरहेको छ । बलात्कारका घृणित समाचार सुन्दा र पढ्दा मानव हुनुमा लज्जाबोध हुन थालेको छ  । यस्तो लाग्छ नेपाल अब बुद्धको देश नभएर बलात्कारी जन्माउने र त्यसलाई संरक्षण दिनेको उर्वर भूमि बन्दैछ । 

बलात्कारका घटनामा संलग्नहरूको विवरण हेर्दा बलात्कारी कुनै उमेर समूह, कुनै पेसा वा कुनै तहको नरहेको स्पष्ट देखिन्छ  । अहिले नेपालमा  १५ वर्ष मुनिका बालिकाहरु बढी बलात्कारको शिकार भइरहेका छन् । 

अझ डरलाग्दो यथार्थ के हो भने बालिकाहरु आफ्नै घरभित्रै रहेका नातेदार, छरछिमेकबाट बलात्कृत भइरहेका छन् । तर, इज्जत र डर धम्कीका कारण घटना सार्वजनिक हुँदैन । सार्वजनिक भइहालेपनि मिलापत्र गराउने र बलात्कार जस्ता घटना ढाकछोप गर्ने प्रवृत्ति हाम्रो देशमा हाबी छ । स्पष्ट कानूनको कार्यान्वयनको अभावमा बलात्कारका घटना झनै जटिल बन्दै गइरहेको छ ।

यी दर्दनाक घटनाहरु जसले न्याय मरेको अनुभूति दिलाउँछ 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनामा संलग्न अरोपीलाई न प्रहरीले दुई महिना भन्दा बढी समय बितिसक्दा पनि सार्वजनिक गर्न सक्यो न त आरोपीसम्म पुग्नै सक्यो । अझ शुरुवाती दिनदेखि नै प्रहरीले राम्ररी अनुसन्धान गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् । किनकी  प्रहरीले यथेष्ट प्रमाणहरु एकपछि अर्को गर्दै नष्ट गर्दै लगेको स्वयम् गृहमन्त्रीको स्वीकारोक्ति छ । 

देशका आम नागरिकको प्रश्न छ । सरकार निर्मलाको आरोपी कहिले सार्वजनिक हुन्छ ? यो सवाल सेलाउन नपाउँदै रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ बजार टोली १८ वर्षीय सम्झना दास र उनकी बहिनी सुस्मिता दासमाथि एसिड आक्रमण भयो । उनी माथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गर्यो तर, सम्झनाको उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा असोज ७ गते राति निधन भयो । 

भदौ २६ गते रौतहटको एसिड काण्ड सेलाउन नपाउँदै चितवन कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई असोज ८ गते सोमबार तरकारी किनेर बजारबाट घर फर्कँदै गर्दा छिमेकी युवक विमलले अनुहारमा एसिड प्रहार गर्यो र चक्कुले शरीरका विभिन्न भागमा आक्रमणसमेत गरेको समाचार सार्वजनिक भयो । 

एकपछि अर्को गर्दै बाक्लो रुपमा घटिरहेका यस्ता घटनाले चिन्तित भएका आम नेपालीले फेरि अर्को दर्दनाक समाचार सुन्नुपर्यो । पोखरामा १० वर्षीय बालिका श्रेया सुनुवारको पनि बलात्कारपछि हत्या भएको खबर सार्वजनिक भयो । 

त्यस्तै असोज ४ असोज कञ्चनपुर कृष्णपुर नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्यनरत ६ वर्षीय बालिकालाई १० वर्षीय बालकले बलात्कार गरेको समाचार पनि सार्वजनिक भयो । 

कृष्णपुर नगरपालिका–१ की ६ वर्षीय बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । 

सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १० वर्षीय बालक अमर सिंह रानालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो ।

बालिका मात्र नभएर महिला पनि सामूहिक बलात्कारका शिकार भइरहेका छन् । 

यही असोज १० गते बुधबार कालिकोटको खाँडाचक्र –९ धिमुमा एक १९ वर्षीय किरोशीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । 

यसैगरी भदौ २६ गते धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको थियो ।

भदौ ७ गतेबाट बेपत्ता भएर लक्ष्मी नेपाली मृत भेटिएकी थिइन् ।

भदौ ७ गतेबाट सम्पर्कविहिन भएकी लक्ष्मी भदौ १५ गते काठमाडौं वडा नम्बर ३ स्थित बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिएकी थिइन् । 

यसैगरी कालिकोटको सदरमुकाम मान्मबाट करिब ३० किलोमिटर टाढा पर्ने खाँडाचक्र–९ धिमुमा धिमाल देवताको पैठ (जात्रा) हेरेर घर फर्किने क्रममा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । 

स्थानीय जनज्योति माविमा कक्षा १० मा अध्यनरत १९ वर्षीय किशोरीमाथि दश जना युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएका थिए । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले  ८ जनालाई पक्राउ गरेको थियो भने अन्य २ जना फरार छन् । 

त्यस्तै डडेल्धुरा जिल्लाको पर्शुराम नागरपालिकामा पनि १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिर आयो । पर्शुराम नागरपालिकाकी किशोरीलाई स्थानीय २ युवकले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अनन्ते मेला हेरर घर फर्किने क्रममा असोज ९ गते राति किशोरी बलात्कृत भएकी हुन् । 

यसैगरी गत वर्ष फागुनमा बारामा ४ वर्षीय र गुल्मीमा ६ वर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भइरहँदा पर्सामा सामूहिक बलात्कार गरी बेहोस बनाएर फालिएकी ८ वर्षीय बालिकाको समाचार पनि सार्वजनिक भयो । उनको उद्धार गरी काठमाडौंको ग्रीनसिटी अस्पतालमा ल्याएर उपचार गरियो । ८ वर्षीय बालिकाको यौनांगमा १२ वटा टाँका लगाइयो ।

सामूहिक बलात्कारका घटना देशभर भइरहँदा काठमाडौंकै बल्खुबाट सुस्त मनस्थितिकी एक बालिकालाई दुई छुट्टा–छुट्टै गाडीका चालक र सहचालकहरूले १२ दिनसम्म बन्धक बनाई बलात्कार गरेर अन्ततः विक्षिप्त अवस्थामा स्वयम्भूमा लगेर बालिकालाई छोडेका थिए ।

पाँच महिनामा ७ सयभन्दा बढी बलात्कार 

पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका तथ्य सार्वजनिक भएको छ । 

सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेश गरेको विवरणमा यो तथ्य उल्लेख छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समितिलाई बुझाएको कार्यप्रगतिसम्बन्धी प्रतिवेदनमा पछिल्ला ५ महिनामा भएका घटना विवरण पनि उल्लेख छ ।

वैशाखदेखि भदौसम्म ७ सय १० वटा जबर्जस्तीकरणीका घटना भएको तथ्याङ्क सार्वजनिक भएको हो । 

लैङ्गिक हिंसाको अवस्था शीर्षकमा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोही अवधिमा ३ सय ९१ जबर्जस्तीकरणीको उजुरी परेको छ ।

त्यस्तै बहुविवाहको ३ सय ४०, बालविवाहका घटना ४० भएका छन् भने घरेलु हिंसाको घटना बढ्दो छ । 

घरेलु हिंसाका घटना ५ हजार ४ सय १७ रहेको छ भने अवैध गर्भपतनको उजुरी १० वटा भएको तथ्याङ्कमा उल्लेख छ ।  

बेतुकको दाबी गर्दै गृहमन्त्रालय

देशमा बलात्कारको घटना बढ्दै गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ९० प्रतिशत बलात्कारीको कारवाही भइसकेको दाबी गरेका छन् । 

बलात्कार, हत्या लगायतका महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरिएको उनको भनाइ छ । 

असोज ११ गते बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै गृहमन्त्री थापाले ‘महिला हिंसा न्यूनीकरणसम्बन्धि सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराए । महिला हिंसासँग सम्बन्धित बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता गरे ।’

“महिला हिंसालाई बढवा गर्ने तत्वका रुपमा रहेका मदिरा नियन्त्रण, लागुपदार्थ निषेध र अश्लील प्रकारका विद्युतीय सामग्रीलाई बन्द गरिनुपर्छ, यसमा सरकारले गृहकार्य गरिराखेको छ ।” 

गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्ने पूँजीवादी संस्कारले गर्दा महिला हिंसा बढेको बताइरहेका छन् । तर, कञ्चनपुर घटना भएको ६८ दिनसम्म अपराधी पत्ता लागेको छैन । बरु घटना थप रहस्यमय बन्दै गइरहेको छ । 

के छ बलात्कारीलाई सजाय ? 

दिनानुदिन बलात्कारका घटना बढिरहँदा आम नागरिकले माग गरिरहेका छन् बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ । 

बलात्कारविरुद्ध उठेका आवाजलाई ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’को मनस्थितिले हेर्ने चलन छ । त्यसैले कानून कार्यान्वयनको अभावमा समस्या झनै जटिल बन्दै गइरहेको छ ।  

अनेक बहस र छलफलपछि आएको नयाँ मुलुकी ऐनमा पनि बलात्कारीलाई कठोर सजायको व्यवस्था हुन सकेन । 

२०७५ भदौ १ गतेदेखि लागू हुनेगरी पारित गरिएको नयाँ मुलुकी अपराध संहितामा यस्ता जघन्य बलात्कारीका लागि थप पाँच वर्ष सजाय बढाएर २० वर्षको अधिकतम सजायको व्यवस्था गरिएको छ । 

सामूहिक बलात्कारमा थप ५ वर्षको सजाय यथावत् नै राखिएको छ । 

त्यस्तै हाल प्रचलित ऐनमा रहेको (ज.क. महलको ८ नम्बरमा भएको ‘आफू बलात्कृत हुने अवस्थामा सतित्व रक्षाका लागि वा बलात्कार भइसकेपछि उक्त बलात्कारीलाई एक घण्टाभित्र मारिदिने) प्रावधान नयाँ ऐनले हटाएको छ । त्यस्तै हाडनाताकरणीमा बाहेक हदम्यादको विषयमा नयाँ ऐन अनुदार नै छ ।

लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३’ मा कसुर प्रमाणित भइसकेपछि पीडितलाई पीडकबाट मुनासिब क्षतिपूर्ति भराउने व्यवस्था मुलुकी ऐन ज.क. महल १४, (१० ग) मा गरिएको छ । तर, सफाइ पाएको व्यक्तिबाटै क्षतिपूर्ति भराउने व्यवस्था न हाल प्रचलित कानूनमा छ न भदौ १ गतेबाट लागू भएको नयाँ कानूनमा छ । 

यस्तो कानूनको व्यवस्था हुँदा अबका दिनमा बलात्कार जस्ता जघन्य अपराधका मुद्दामा कस्ता फैसला हुनेछन् ? यसले कस्तो न्यायिक संस्कृतिको विकास छ ? आम नेपाली नागरिकको प्रश्न छ । 

हाम्रो समाज, सामाजिक मानसिकता र परिवेशलाई हेर्दा कुनै पनि बालिकालाई बलात्कार गरी मारिनु र बलात्कृत हुनुमा कुनै फरक छैन । बलात्कारमा परेकी बालिका वा महिलाले उसको बाँकी जीवन मानसिक रूपले पटक–पटक बलात्कृत हुँदै बाँचिरहेकी हुन्छे । तर, बलात्कारी भने कम्तीमा ५ वर्षदेखि बढीमा २० वर्ष जेल सजाय काटेर छुट्छ र खुलेआम जीवन बिताउँछ । 

बलात्कारको पीडा सहेर एउटी बालिकाले नर्कभन्दा पनि बढ्ता जिन्दगी बिताइरहेकी हुन्छे । उता राज्यले भने बलात्कारीलाई जेलमै सेवासुविधा दिएर पालेको हुन्छ । अझ पैसा र पहुँचवाला छ भने त उसले सकेसम्म जेल बस्नै पर्दैन, बसिहाले पनि पूरा सजाय भोग्नै पर्दैन । बलात्कारी छुटाउन राजनैतिक दबाबको त झन् कुरै नगरौँ । यस्ता पक्षमा राज्य गम्भीर हुनु जरुरी छ । 

बालिका किन बलात्कारको शिकार हुँदैछन् ?

अहिले देशमा १० देखि १५ वर्ष उमेर समुहका बालिकाको बलात्कार हुनु गम्भीर चिन्ताको विषय बनेको छ ।  

यस्ता कलिला नानीहरुलाई बलात्कार गर्न के ले प्रेरित गरिरहेछ उनीहरूलाई ? कस्तो संस्कार र वातावरणमा हुर्किरहेछन् आजका युवाहरू ? यो विषयमा राज्य र समाजका हरेक जिम्मेवार निकाय, व्यक्ति अनि परिवारबाटै गम्भीर अनुसन्धान हुन जरुरी देखिन्छ । 

किन तीव्र रूपमा समाजमा विकृत यौन मानसिकताको वृद्धि भइरहेको छ ? 

मदिराको सर्वसुलभता, लागुपदार्थको सेवन र हरेकको हातमा रहने स्मार्टफोनमा भेटिने अश्लील भिडियोहरूले नै यौन इच्छा जागरुक त गराइरहेको छैन ? 

यी कुराको नियन्त्रण गर्न सकिएमात्र पनि बलात्कारजन्य हिंसाहरू धेरै हदसम्म कम हुन्थ्यो कि ? 

कुनै पनि अपराध न्यूनीकरण गर्न अपराधीलाई दिइने सजायले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले बलात्कारका अपराधमा पनि बलात्कारीलाई राज्यले जबसम्म कठोर सजायको व्यवस्था गर्दैन तबसम्म यस्ता अपराधीको मनोबल वृद्धि भइरहन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?