‘एसीसी’ यू-१९ एशिया कप : नेपाल समूहको एक खेल अगावै बाहिरियो, अफगानिस्तान ३ विकेटले विजयी

काठमाडौं । नेपाल बंगलादेशमा जारी ‘एसीसी’ यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

सोमवार भएको समूह ‘ए’को दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । नेपालले समूहको अन्तिम खेल खेल्नु अगावै एशिया कपको यात्रा समाप्त भएको हो । 

साभरमा सोमवार भएको खेलमा नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७ दशमलब ३ ओभरमा ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका लागि रहमातुल्लाह गुर्वाजले २६ रन, अज्मातुल्लाह ओमारजाइले २३ तथा आरिफ खानले अविजित २३ रन बनाएका थिए । 

बलिङतर्फ नेपालका सूर्य तामाङले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिन सफल भए । ८ ओभर बलिङ गरेका उनले ३३ रन खर्चेर ४ विकेट लिए ।  

पवन सर्राफ, रसिद खान र सागर ढकालले पनि समान एक-एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि चार खेलाडीले मात्र दोहोरो अंक बनाउन सके । खराब शुरुवाती समयमा खराब प्रर्दशन गरेको  नेपालले १८ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ब्याट्म्यान रवीकुमार शाह दुई रन जोड्दै पेभेलियनमा फर्किए ।

सन्दिप जोराले खाता नै खोल्न सकेनन् । रित गौतम १० रनमा आउट भए । कप्तान आशिफ शेख र रोहित पौडेलले ५३ रनको साझेदारी गरे । आशिफले २० रन जोडे । भिम सार्की मात्र ५ रन बनाएर पेभेलियनमा फर्किए ।

रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन तथा रशिद खानले २९ रनको योगदान दिए । अफगानिस्तानका लागि आज्मतुल्लाह ओमर्जाले सबैभन्दा बढी ४ विकेट लिन सफल भए । अब्दुल रहमान र क्विस अहमेदले समान १-१ विकेट लिए । 

यस अघि भएको पहिलो खेलमा नेपाल भारतसँग १ सय ७१ रनले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको भारत र अफगानिस्तानले समान ४–४ अंक बनाएको छ ।

यता, युएई र नेपाल भने अंक बिहीन छन् । समूहको अन्तिम खेलमा नेपालले युएईको सामना गर्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?