काठमाडाैं । श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीवार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाइ गरेको हो ।
उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रवार त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोईराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरेका हुन् ।
प्रतियोगिताका लागि यु– १७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधवार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । प्रशिक्षक उर्जनले १५ सय खेलाडीबाट खुला प्रतिष्पर्धाको माध्ययमबाट २३ सदस्यीय टोली बनाएका हुन् । कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता हुन नसक्दा उमेर समूहका खेलाडी पनि एन्फामा नभएको अवस्थामा खुला प्रतिष्पर्धा गरिएको थियो ।
सेप्टेम्बर ५ देखि १४ सम्म आयोजना हुने साफ यु–१७ को प्रतियोगितामा ६ देशले सहभागिता जनाउँदै छन् । पाकिस्तानले सहभागिता जनाएको छैन । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ भने नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिष्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलबाट समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ । नेपालले यु १७ साफपछि एएफसी एशिया कप छनोट खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया