पर्यटनमन्त्री श्रेष्ठले सुरु गरे पर्यटकीय स्थलकाे सरसफाई अभियान

लोकपथ
35
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए ।

अभियानअन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । ’पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल–ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरुर शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाई अभियान सुरु गरेको हो ।

मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकैरुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो । देशका अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पनि राष्ट्रिय सरसफाई अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?