एजेन्सी: शीत युद्ध पश्चात अमेरिकाको तुलनामा रूस कमजोर भएपनि उ अहिले पनि जसको साथ भइदिन्छ त्यसले अमेरिकालाई सतर्क बनाइ दिने गरेको छ ।
सिरियाका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गराउन अमेरिकाले भरमग्दुर प्रयास गरेपनि सिरियालाई रूसले सहयोग गरेर अमेरिकी अभिष्टलाई ध्वस्त पारी दिएको छ ।
रूसी समर्थनले सिरियालाई जोगाइ दिएको छ ।
शीत युद्धको जस्तो विश्व दुई ध्रवमा नभएपनि कतिपय मामिलामा रूस र चीनले अमेरिकालाई चुनौती दिइरहेको देखिन्छन् ।
भारतसँग रूसको पुरानो मित्रता रहेको छ ।
तर पछिल्ला वर्षमा रूसको मित्रता चीनसँग बढेर गएको छ ।
चीन र भारतबीच १९६२मा भएको युद्धमा भारतलाई लज्जास्पद हार बेहोर्नुपरेको थियो । अझसम्म यी दुई बीचको सीमा विवाद समाधान हुन सकेको छैन् ।
यस्तोमा रूस र चीनको मित्रता भारतका लागि धक्का हो र? भन्ने सवाल खडा हुन पुगेको छ । भारतमा यसको असर कस्तो पर्छ ?
भारतको सम्बन्ध अमेरिकासँग बढेर गएपछि रूस र चीनको सम्बन्धमा बृद्धि हुन पुगेको देखिन्छ भने भारत र रूसबीचको दूरी बढेको छ ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटले गरेको अध्ययन अनुसार २००८–२०१२सम्म भारतमा हतियारको आयात ७९ प्रतिशत रूसबाट हुने गरेको थियो ।
तर ५ वर्ष यता यो ६२ प्रतिशतमा घटेको छ ।
अर्कोतर्फ अमेरिकाबाट हतियार खरिद गर्ने पाकिस्तानले रूससँग हतियार किन्न थालेको छ ।
पाकिस्तानले अमेरिकामाथिको हतियार निर्भरता घटाउन खोजेको देखिन्छ ।
पाकिस्तानले अमेरिकासँग १ अर्ब अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने गरेकोमा यो खरिद २.१ करोड अमेरिकी डलरमा झरेको छ ।
पूर्वी रूस र साइबेरियामा यो महिना गरिएको संयुक्त सैन्य अभियास अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको छ । यसलाई अमेरिका विरूद्धको सैन्य अभ्यासको रूपमा अथ्र्याउने गरिएको छ ।
अमेरिकाले रूसमाथि आर्थिक नाकाबन्दी लगाएको छ भने चीनको सामानमाथि महशुल थपि दिएको छ । यसले पनि यी दुईलाई नजिक ल्याएको देखिन्छ ।
यी दुई देशबीचको सम्बन्ध २६ वर्ष यता न्यानो बन्दै गएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा भिटो पावरको प्रयोग अमेरिकाको विरूद्ध रूस र चीनले पटक पटक गरेको देखिएको छ ।
यी दुई देशको दृष्टिकोण इरान, इराक, लिबिया, सिरिया र उत्तर कोरिया जस्ता देशहरूका बारेमा समान जस्तो देखिन्छ भने अमेरिकाको दृष्टिकोण उनीहरूको विपरीत रहिआएको छ ।
यी दुई देशको स्वार्थको टक्कर मध्यएसियामा हुने वर्चस्वका विषयमा हुन सक्नेछ । चीनको उदयले मध्यएसियामा रूसको वर्चस्व गुम्ने आंशका बढाएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् –‘रूस र चीनबीच व्यापक साझेदारी र रणनीतिक सहयोग वैश्विक र क्षेत्रीय शान्तिका लागि धेरै महत्वपूर्ण छ । यो साझेदारी दुनियामा कुनै पनि एक देशको वर्चस्वलाई सामना गर्न पूर्णरूपमा बलियो साबित हुनेछ ।”
जेएनयूमा रूसी अध्ययन केन्द्रका प्रोफसर सञ्जय पाण्डेले रूस र चीनको गठजोड अमेरिकाको विरूद्ध भएको बताए ।
तर यसले भारतलाई हानि हुन सक्ने उनको बुझाइ छ । रूसले पाकिस्तानको आलोचना गर्न छोडिसकेको छ ।
अहिलेको अवस्थामा भारत र चीनलाई छनोट गर्नुपर्ने अवस्था रूसको समक्ष आए रूसले तटस्थ विकल्पको छनौट गर्नेछ ।
भारतका लागि रूस तटस्थ रहनु नै भारतको विरोध हुनेछ किनभने अहिलेसम्म भारतलाई रूसले साथ दिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया